२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशीको मुख्यमन्त्री हिक्मत कार्कीको दाबी पेश



कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश भएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश भएको हो । कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश भएको हो ।

प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न बुधबार राति आह्वान गरेका थिए । माओवादी केन्द्र र एमालेका ५२ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता गरेको ३० दिन पूरा भएको, मुख्यमन्त्रीले विश्वासको मत नलिएको प्रदेशसभाको जानकारीपत्र समेतका आधारमा नयाँ सरकार गठनको आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयको सूचनामा उल्लेख छ ।

एमाले र माओवादीले सरकारको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत पनि लिने र राजीनामा पनि नदिने अडान राख्दै आएका थिए । त्यसलाई चिर्न दुई दलले समावेदनमार्फत प्रदेशसभाको विषेश अधिवेशन आह्वान गराएर समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिन मुख्यमन्त्रीलाई निर्देशन दिने संकल्प प्रस्ताव वैशाख ७ गते पारित गराएका थिए ।

मुख्यमन्त्री कार्कीले भने संकल्प प्रस्ताव बाध्यकारी नभएको भन्दै विश्वासको मत लिने प्रस्ताव नै प्रदेशसभामा राखेनन् । प्रदेशसभा सचिवालयले संकल्प प्रस्तावले गरेको निर्देशन अनुसार मुख्यमन्त्रीलाई त्यसको जानकारी गराएको भएपनि विश्वासको मत लिने प्रस्ताव नआएको पत्र प्रदेश प्रमुखको कार्यालयले पठाएपछि नयाँ सरकार आह्वानको ढोका खुलेको थियो ।

मुख्यमन्त्रीले विश्वासको मत नलिएको प्रदेशसभा सचिवालयको सो पत्र तथा प्रदेशसभामा ५२ सांसदको प्रतिनिधित्व गर्ने दुई दलले नयाँ सरकार गठन गर्न गरेको माग सम्बन्धमा प्रदेश प्रमुख खापुङ महान्यायधीवक्ता डा.दिनमणि पोखरेलको राय अनुसार सरकार गठनको आह्वान गरेका हुन् ।

नयाँ मुख्यमन्त्रीमा दावी पेश गर्न लागेका कार्की यसअघि दुई पटक मुख्यमन्त्री भइसकेका छन् । २४ पुस २०७९ पहिलो पटक माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले केन्द्रमा सत्ता समीकरण फेरिएपछि १४ असार २०८० मा राजीनामा दिएका थिए । सर्वोच्च अदालतको परादेशपछि २२ भदौ २०८० मा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका कार्कीले २० असोजमा पुनः राजीनामा दिएका थिए ।

केन्द्रमा पुनः एमाले र माओवादी केन्द्रको गठबन्धन बनेपछि कार्की तेस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । कार्कीलाई एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थन छ ।

उपधारा ५ अनुसार सरकार गठन आह्वान भएका कारण आजै दाबी पेशपछि सांसदको हस्ताक्षर सनाखत गर्ने तयारी रहेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

२०८० असोज २७ गते केदार कार्की सरकार गठनको अन्तिम विकल्प उपधारा ५ अनुसार नै मुख्यमन्त्री नियुक्त भएका थिए । नेपाली कांग्रेसका ८ सांसदसहित विद्रोह गरेका केदार कार्कीलाई एमालेका ३९ सांसदले समर्थन गरेर मुख्यमन्त्री बनाएका थिए ।

विटनगरमा हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीको दावी पेश गर्ने तयारी गरिरहँदा मुख्यमन्त्री केदार कार्की भने त्यसविरुद्ध सर्वोच्च अदालतमा अदालत रिट दायर गर्न काठमाडौं पुगिसकेका छन् । आफू नेतृत्वको सरकार हुँदाहुँदै अर्को सरकार आव्हान गर्नु संविधानविपरीत भएको जिकिरसहित उनी अदालत जान लागेका हुन् ।

प्रकाशित मिति : २०८१, २७ बैशाख बिहीबार ००:००  ११ : ५८ बजे