२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निसीखोला गाउँपालिकामा लगाइएको ताला खुल्यो



बागलुङको निसीखोला गाउँपालिकामा गत बिहीबारदेखि नेकपा एमाले निसीखोला गाउँपालिका कमिटीले लगाएको ताला चार दिनपछि खुलेको छ । नेकपा एमाले र गाउँपालिकाबीच सहमति जुटेपछि कार्यालयमा लगाइएको ताला खुलेको हो ।

आइतबार गाउँपालिकाको कार्यालयमा आयोजना गरिएको सर्वपक्षीय छलफलमा संघीय सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृतले नै काम गर्ने गरी सहमति भएको छ । गाउँपालिकाका कर्मचारीलाई हाजिरी नगराइएको विषयमा सर्वदलीय छानबिन समिति गठन गर्ने, कर्मचारीका कामकारबाहीका विषयमा अध्यक्षले खोजी गरेर यथार्थ बाहिर ल्याउने, आगामी दिनमा निमित्तको भरमा प्रमुख प्रशासकीय अधिकृतको कामकारबाही नगर्ने सहमति भएको छ ।

स्वार्थ बाझिने गरी निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा काम गर्ने गरी प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाएको भन्दै गत बिहीबार नेकपा एमाले निसीखोला गाउँ कमिटीले कार्यालयमा ताला लगाएर आन्दोलन घोषणा गरेको थियो ।

संघीय सरकारका कर्मचारी आउँदा हाजिरकापी नभेटिएको विषयमा छानबिन गर्न गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन भएको छ । समितिका सदस्यहरूमा नेपाली कांग्रेसका तारानाथ पौडेल, एमालेका भूमिराज घर्तीमगर, माओवादी केन्द्रका भीमबहादुर घर्तीमगर, राष्ट्रिय जनमोर्चाका थम्मन घर्तीमगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका मेघध्वज मल्ल र अनुप बुढामगर सदस्य रहेका छन् ।

समितिले दिएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सहमतिसमेत भएको छ ।

प्रकाशित मिति : २०८१, ३० बैशाख आइतबार ००:००  ११ : १० बजे