२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुग्यो



काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ । बुधबार काठमाडौंमा १, पर्साको वीरगञ्जमा २ र मोरङमा २ जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ६३ पुगेको हो ।

कोरोना संक्रमणका कारण बुधबार काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको छ । मनमोहन अस्पतालबाट उनी १६ गते सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी थिइन् । उनलाई निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको थियो ।

बुधबार कोरोना संक्रमणका कारण पर्साको वीरगञ्ज महानगरपालिका १५ का ४६ वर्षीय पुरुष मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । ज्वरो आएपछि मंगलबार अस्पताल भर्ना भएका विरगञ्जका पुरुषकोे उपचारको क्रममा बुधबार बिहान ६ बजे नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो ।

यस्तै पर्साकी युवतीलाई झाडापखाला र बान्ता भएपछि उपचारका लागि वीरगञ्जस्थित नेसनल मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । मृत्युपछि कोरोना संक्रमणको शंकामा स्वाब संकलन गरी वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ आएको छ ।

त्यस्तै, विराटनगर महानगरपालिका– ९ का ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मंगलबार राति अस्पताल भर्ना भएका उनको बुधबार दिउँसो १ बजे मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । कलेजोको गम्भीर समस्या भएका उनी मंगलबार राति उपचारका लागि अस्पताल भर्ना भएका थिए । आइसोलेसनमा उनको मृत्यु भएको दुई घण्टापछि रिपोर्ट पोजेटिभ आएको हो ।

त्यस्तै रंगेली नगरपालिका– ८ दर्बेसाका ४५ वर्षका पुरुषको भने अस्पताल ल्याउने क्रममा बुधबार बिहान साढे १० बजे मृत्यु भएको थियो । कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाब संकलन गरेर कोशीको प्रयोगशालामा परीक्षण गराउँदा संक्रमण पुष्टि भएको अस्पतलले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार तीन सय ५९ जनाको पिसिआर परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता गौतमले बताए । योसँगै कुल संक्रमितको संख्या २१ हजार तीन सय ९० पुगेको छ । बुधबार एक सय ३० जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार एक सय ५६ पुगेको छ ।

प्रकाशित मिति : २०७७, २१ श्रावण बुधबार ००:००  १२ : ४३ बजे