२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘गाउँ आएको बाटो’ को भव्य प्रिमियर



प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागी भई वाहवाही कमाएको चलचित्र ‘गाउँ आएको बाटो’को प्रिमियर भएको छ। बुधबार कमलपोखरीस्थित बिग मुभिजमा विशेष समारोहबीच चलचित्रको प्रिमियर गरिएको हो।

प्रिमियरमा नेपाली कलाकारहरूदेखि पत्रकार, साहित्यकारलगायतका विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति थियो। एमालेका सांसद रघुजी पन्तले चलचित्रले विकाससँगै गाउँमा परेको प्रभाव र त्यहाँको संस्कृतिमाथि परेको असरलाई सुन्दर ढंगबाट देखाइएको बताए। यस्तै, पूर्व पर्यटन तथा संस्कृतिमन्त्री सुदन किराँतीले नेपालमा गाउँ आएको बाटो जस्ता चलचित्र बन्न जरुरी रहेको बताए।

निर्देशक निश्चल बस्नेतले गाउँ आएको बाटो हेरेपछि आफ्नै गुरुको फिल्म हेरेजस्तो महसुस भएको बताए। ‘फिल्ममा बिम्बको प्रयोग मज्जाले गरिएको छ । नवीन दाइले फिल्ममा हाम्रो समाज यस्तो छ, हाम्रो भोगाइ यस्तो छ भनेर टपक्क टिपेर ल्याउनुभएको छ,’ उनले भने।

यस्तै, अभिनेत्री केकी अधिकारीले ‘गाउँ आएको बाटो’ दयाहाङ राईको करिअरकै उत्कृष्ट फिल्म रहेको बताइन्। नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ले राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको चलचित्रले गाउँमा मोटरबाटो आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतारचढावलाई चित्रण गर्छ ।

चलचित्रमा दयाहाङ राई र पशुपति राईदम्पतीको भूमिका देखिएका छन् भने बाल कलाकार प्रसन राई (बिन्द्रे) छोराको भूमिकामा छन्। चलचित्रलाई सामुदायिक लगानीको अवधारणामार्फत निर्माण गरिएको हो।

‘गाउँ आएको बाटो’ क्यानडाको ‘टोरोन्टो’, दक्षिण कोरियाको ‘बुसान’, ब्राजिलको ‘साउ पाउलो’, भारतको ‘मुम्बई’ स्विडेनको ‘गोटेबर्ग’, चीनको ‘बेइजिङ’लगायत महोत्सवमा प्रदर्शन भइसकेको छ । चलचित्रको छायांकन अमेरिकी छायाकार जोस हेरम र सम्पादन ताइवानका क्वान पुन लुङले गरेका हुन् ।

चलचित्रको गीतमा हङकङकी हाइडी लीको संगीत र राजेशपायल राईको आवाज रहेको छ । नवीन सुब्बा र महेश राईले मिलेर लेखेको चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमिन्त्रा राई, राज थापा, प्रेम सुब्बालगायतको अभिनय छ ।

प्रकाशित मिति : २०८१, २४ जेठ बिहीबार ००:००  ४ : ३३ बजे