२०८१, ८ असार शुक्रबार | Fri Jun 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेको ६३ जिल्लामा अधिवेशन सम्पन्न, काठमाडौंमा सुरु



सत्तारुढ नेकपा (एमाले) पार्टीको हालसम्म ६३ जिल्ला अधिवशेनबाट नयाँ नेतृत्व चयन भएका छन् । यही जेठभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न एमाले केन्द्रीय कार्यालयले जिल्लालाई निर्देशन दिएको थियो ।

एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले इलाममा हालै उपनिर्वाचन सम्पन्न भएकाले हाल अधिवेशन नभएको, तेह्रथुममा आन्तरिक विवाद भई सङ्गठन विभागले अध्ययन गरिरहेको र मोरङमा आयोजक कमिटी भर्खरै गठन गरिएको जानकारी दिए ।

शुक्रबार मात्रै रुपन्देही र नुवाकोटको जिल्ला अधिवेशन सम्पन्न भएको छ । मधेस प्रदेशको सिराहा, सप्तरी, धनुषाको जिल्ला अधिवेशनको मिति तोक्न बाँकी छ । गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा र सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटी जिल्ला अधिवेशनको मिति तोक्न बाँकी रहेको एमालेले जनाएको छ ।

यसैबीच नेकपा एमाले काठमाडौंको अधिवेशन सुरु भएकाे छ । अध्यक्षमा दिपक निरौला र निर्मल देउलाबीच प्रतिस्पर्धा हुने भएको छ । शनिवार उद्घाटन भएको अधिवेशनको बन्दसत्र आजबाट शुरु भएको जिल्ला इन्चार्ज आनन्द पोखरेलले जानकारी दिए । सहमतिबाट नेतृत्व चयन नभएमात्र निर्वाचनको प्रक्रियामा जाने उनले बताए ।

काठमाडौंको अध्यक्षका लागि निवर्तमान अध्यक्ष निरौला फेरि दोहोरिन खोजेका छन् । उनलाई काठमाडौं महानगरपालिका कमिटीको अध्यक्षबाट भर्खरै विदा भएका निर्मल देउलाले चुनौति दिएका छन् । उनी दलित समुदायबाट उठेका नेता हुन् ।

एमाले नेताहरुका अनुसार देउलालाई कृष्णगोपाल श्रेष्ठ,विद्या सुन्दर शाक्य,सुरेन्द्र मानन्धर,अजय क्रान्ति शाक्य,रामेश्वर फुयाल लगायतका नेताहरुको साथ छ । निरौलालाई नारायण सिलवाल,कृष्ण राई,सरिता न्यौपानेलगायतको साथ छ ।

यता निरौला र देउलाबीचको प्रतिस्पर्धा रोकेर माथिल्लो तहबाटै नेतृत्वमा सर्वसम्मत गराउने लबिङ पनि भइरहेको छ ।

प्रकाशित मिति : २०८१, २७ जेठ आइतबार ००:००  १० : ३८ बजे