२०८१, ८ असार शुक्रबार | Fri Jun 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घुसबापत जग्गा खाने इन्जिनियरलाई ६ वर्ष कैद



लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाइएको छ। विशेष अदालतले गत चैत २४ मै कसुरदार कायम गरेकोमा आज बिहीबार सजाय निर्धारण गरेको हो।

भट्टराई कोषमा योजना प्रमुखका रूपमा कार्यरत थिए। उनले आफ्नो कामसँग सम्बन्धित ठेकेदारसँग ८० लाख रुपैयाँ लिएको पुष्टि भएपछि सजाय सुनाइएको विशेषले जनाएको छ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो। इन्जिनियर भट्टराईलाई उक्त इजलासले ६ वर्ष कैद र ८० लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २५ चैतमा भट्टराईका साथै उनकी आमा जनकनन्दनी भट्टराईलाई प्रतिवादी बनाएको थियो। उनले घुसबापत लिएको जग्गा आमाका नाममा राखेको भन्दै जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो।

इन्जिनियर भट्टराईले भक्तपुर जिल्लाको साबिक गुन्डु गाविस (हालको सूर्यविनायक नगरपालिका ७) मा दुई कित्ता जग्गा खरिद गरेका थिए। जुन उनकी आमाको नाममा रहेको अख्तियारको अनुसन्धानबाट देखिएको थियो।

उनले एक ठाउँमा दुई रोपनी नौ आनाभन्दा बढी जग्गा र अर्को ठाउँमा दुई आना एक पैसा जग्गा खरिद गरेका थिए। यसका लागि कोषमा काम गर्ने ठेकेदारसँग घुस माग गर्नुका साथै ती ठेकेदारकै बैंक खाताबाट जग्गा विक्रेताको खातामा ४० लाख रुपैयाँ पठाउन लगाएका थिए। ठेकेदारकै खाताबाट जग्गा खोजिदिने व्यक्तिको खातामा पनि ४० लाख रुपैयाँ गएको देखिएको थियो।

दुवै रकम जोडेर बिगो कायम गर्दै दुई महिनाअघि मुद्दा दायर भएकोमा सजाय सुनाइएको हो। भट्टराईले मर्यादाविपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो।

प्रकाशित मिति : २०८१, ३१ जेठ बिहीबार ००:००  ६ : ३२ बजे