२०८१, १२ असार मंगलबार | Tue Jun 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गर्मी छल्ने गन्तव्य बन्यो ‘ठोरी’



मधेश प्रदेशको प्रमुख पर्यटकीय स्थल ठोरी गर्मी छल्ने गन्तव्य बनेको छ । नेपाल र भारतका अधिकांश नागरिक आजभोली दिनहुँ गर्मी छल्न ठोरी आउने गरेका हुन् । 

विगतका वर्षभन्दा यस वर्ष देशभरि अत्यधिक गर्मी छ । वीरगन्ज,कलैयासहित तराई मधेश क्षेत्रको तापक्रम दिनप्रतिदिन बढ्दै गएको छ । यस आसपास क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढि मापन भइरहेको छ ।

प्रचण्ड गर्मी अनि तातो हावा चल्दै आएका कारण वीरगन्ज र यस आसपास क्षेको जनजीवन अस्तव्यस्त बनेको छ । गर्मीले आकुलव्याकुल हुँदा सिमाक्षेत्रमा रहेका भारतीय नागरिक र वीरगन्ज, कलैयालगायतका नेपालीहरु सयौंको संख्यामा गर्मी छल्न पर्साको ठोरी आउन थालेका हुन् ।

गर्मी छल्न र घुमफिर गरेर आनन्द लिन चाहनेहरुका लागि पर्साको ठोरी पनि नयाँ गन्तव्य बनेको छ । हुलाकी सडक बनेपछि घुमफिर गरी रमाइलो गर्न र गर्मीका बेला शीतलताको आनन्द लिन मानिसहरु अचेल ठोरी जान थालेका हुन् ।

मधेस प्रदेशकै मुख्य पर्यटकीय स्थलका रुपमा स्थापित हुँदै आएको ठोरी प्राकृतिक रुपमा निक्कै मनोरम छ । कलकल पानी बग्ने आधा दर्जन भन्दा बढी खोला, हरियाली जंगल र लाल पहाडसहितका डाँडाले सिंगारिएको ठोरीमा पुग्ने जोकोही पनि आनन्दित हुन्छन् ।

यसअघि वनभोज खान र घुम्न पुग्ने भारतीयले दिनहुँ भरिभराउ हुने गरेको ठोरीस्थित अमृतधारा पार्कमा अचेल वीरगन्ज,कलैया ,परवानीपुर, जितपुरलगायतका स्थानबाट पनि पुगेकाहरूको चहलपहल देख्न पाइन्छ । ठोरी घुम्न पुग्नेहरु सेतो पहाडसँगै टाँसिएरै रहेको ठुटे खोलाको चिसो पानीमा नुहाएर , लालपहाडको भ्युटावरबाट मनोरम दृश्यावलोन गर्दै ठोरी बजार घुमेर स्थानीय अर्गानिक परिवारको स्वाद चाखेर फर्कने गरेका छन् ।

 ठोरीमा घुम्न जानेहरूका लागि रमाउने अन्य प्राकृतिक गन्तव्यहरुपनि थुप्रै छन् । रेडहिल पार्क , गोले डाँडा, झोलुङ्गे पुल, रानीवन पार्क, अमृतधारा पार्क, गणेशमान सिंह पार्क, दर्जनौं पोखरी, मठमन्दिर र  निकुञ्ज आसपासका डाँडापाखा पनि ठोरीका आकर्षण हुन् ।

हुलाकी सडक बनेर ठोरी घुम्न आउने भारतीयसँगै आन्तरिक पर्यटकहरूको संख्या बढ्दै गएपछि ठोरीमा खानपान र बास बस्नका लागि होमस्टेसँगै सुविधासम्पन्न होटल र रेष्टुरेण्टहरु पनि खुल्न थालेका छन् । पाहुनाको माग अनुसार जंगल सवारीको पनि सेवा सुरु गरिएको छ ।

ठोरी गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास र प्रसारप्रसारलाई जोड दिएको छ । स्थानीय सरकारले पूर्वाधार विकासलाई पर्यटनसँग जोडेपछि ठोरीमा पर्यटकको चाप बढ्दो अवस्थामा रहेको गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठको भनाई छ ।

नेपालका पर्सा, बारा, धनुषा, मकवानपुर, चितवन, काठमाडौंदेखि र भारत बिहारको  रक्सौल, नरकटीयागञ्ज, मोतीहारी, बेतिया, मुजफरपुर पटनासम्मबाट पनि भारतीयहरू घुम्न र रमाइलो गर्न ठोरी आउने गरेका छन् ।

प्रकाशित मिति : २०८१, ५ असार मंगलबार ००:००  ३ : ०८ बजे