मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६३ करोड ६६ लाख बजेट ल्याएको छ । छायाँनाथ राराले १५ औं नगरसभाबाट आर्थिक वर्ष २०८१-०८२ का लागि ६३ करोड ६६ लाख बजेट ल्याएको हो ।
नागरिकको माग र नगरपालिकाले पहिचान गरेका आवश्यकताका आधारहरुलाई प्राथमिकतामा राखेर सभा समक्ष नयाँ नीति कार्यक्रम र बजेट पेश गरिएको नगरप्रमुख विष्णुकुमार भामले अनलाइन सरोकारसँग बताए । विगतका बहुवर्षिय आयोजनाको निरन्तरता र नयाँ गौरवका योजनाको सुरुवाती गर्ने लक्ष्यले बजेट ल्याइएको नगर प्रमुख भामको भनाई छ ।
छायाँनाथ राराले नागरिक सरोकार र सार्वजनिक सेवाका क्षेत्रहरु स्वास्थ्य, शिक्षा, सचेतना, कृषि, पशुपालन, व्यवसायिकरण लगायतका नियमित खर्च हुने शिर्षकमा बजेट अभाव हुन नदिने र दिर्घकालिन महत्वका गौरवका योजना सञ्चालन गर्ने नीति ल्याएको छ ।
गौरवको आयोजनाका रुपमा नगरपालिकाले आगामी वर्ष खुला मञ्च रंगशाला बनाउने भएको छ । नगरपालिकाका सबै सामुदायिक विद्यालयमा सुविधा सम्पन्न बनाउने, एक घर एक धारा अभियानलाई पूर्णता दिने, रारा घुम्न आउने पर्यटकको सहजताका लागि पर्यटन पूर्वाधार विकास गर्ने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
सुम्लीमा सडक लैजान कर्णालीमा बेलिब्रीज हालिने
छायाँनाथ रारा नगरपालिकाको वडा नम्बर १४ को सुम्ली गाउँमा सडक प¥याईने भएको छ । नगरभित्रको दुर्गम गाउँका रुपमा रहेको सुम्लीमा विकासको मेरुदण्डका रुपमा रहेको सडक प¥याउन नगरपालिकाले कर्णाली नदिमा ८ करोड खर्चेर बेलिब्रीज हाल्ने भएको छ । अर्को वर्षसम्ममा सुम्लीमा व्यवस्थित सडक निर्माणको काम गर्न ८ करोडको बहुवर्षिय योजना सञ्चालन गरिने मेयर भामको भनाई छ ।
छायाँनाथ रारा नगरपालिकाले नगरभित्रका सबै टोलबस्तिमा समानुपातीक विकासको अवधारणा अवलम्बन गरेको छ ।