२०८१, १४ कार्तिक बुधबार | Thu Oct 31 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालेनले न्युरोडमा घुँडा टेके, फुटपाथ विस्तार रोकियो



न्युरोड फुटपाथ विस्तारका क्रममा उत्पन्न विवाद तीनबुँदे सहमतिपछि मिलेको छ । महानगरका मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डंगोल र वडा नम्बर २२, २३ र २४ का जनप्रतिनिधिसहित भएको वार्ताले तीनबुँदे सहमति गरेपछि विवाद टुंगिएको हो ।

सहमतिअनुसार हाल फुटपाथ निर्माण भइसकेको वडा नम्बर २४ को फुटपाथले पार्ने पैदलयात्रु र व्यवसायीमा पार्ने सामाजिक, सांस्कृतिक, आर्थिक प्रभावबारे अध्ययन गर्ने, वडा नम्बर २२ र २३ मा फुटपाथ विस्तारले पार्ने प्रभावबारे अध्ययन गर्ने र महानगरअन्तर्गत सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीको संयोजकत्वमा अध्ययन समिति बनाउने निर्णय भएको छ । वार्तामा सहभागी वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनका अनुसार अध्ययन समितिले २ मंसिरमा प्रतिवेदन बुझाउनेछ । ‘हाललाई तीनबुँदे सहमतिपछि विवाद टुंगिएको छ । अध्ययन समितिले मंसिरमा रिपोर्ट बुझाउनेछ । सोहीअनुसार अगाडि बढ्छौँ,’ महर्जनले भने ।

समितिको संयोजकमा आयोगका उपाध्यक्ष राजभण्डारी रहनेछन् । नौ सदस्यीय समितिमा २२, २३ र २४ वडाका अध्यक्ष, फुटपाथ विस्तारबारे जानकार २२ वडाका दुईजना, २३ र २४ वडाका एक–एकजना गरी चारजना र सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्य सदस्यसचिव रहनेछन् । महर्जनका अनुसार अध्ययन समितिले चार महिनापछि अध्ययन प्रतिवेदन बुझाउने र त्यसमा छलफलपछि मात्र फुटपाथ विस्तार हुने–नहुने निर्णय हुनेछ ।

सडकलाई पैदलयात्रीमैत्री बनाउन भन्दै महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर गत ११ जेठदेखि काम थालेको थियो । तर, डिभिजन सडक कार्यालय, काठमाडौंले आफ्नो क्षेत्राधिकारको सडक भएकाले अनुमतिविना काम नगर्न १२ जेठमा सडक डिभिजन काठमाडौंले हस्तक्षेप गरेको थियो । यसपछि काम रोक्न १३ र १६ जेठमा गरी दुईवटा पत्र पठाएको थियो । महानगरले फुटपाथ विस्तारका लागि काटेको सडकलाई कार्यालयले २१ जेठमा मर्मतसमेत गरेको थियो । जसका कारण डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर २७ जेठमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । उच्च अदालतले फुटपाथ विस्तारका लागि बाटो खोलिदिएपछि २ साउनदेखि फेरि फुटपाथ विस्तार सुरु भएको थियो । तर, फेरि फुटपाथ विस्तारको काम जनप्रतिनिधिको नेतृत्वमा स्थानीयले विरोध गर्दै रोकेका थिए । वडा नम्बर २२ का अध्यक्ष चिनिकाजी महर्जनले विरोधस्वरूप सोमबार सडकबाटै कार्यालयको सेवा दिएका थिए ।

मचाराजा महर्जन, वडाध्यक्ष, काठमाडौं महानगर–२२ : अध्ययन समितिले २ मंसिरमा प्रतिवेदन बुझाउनेछ । हाललाई तीनबुँदे सहमतिपछि विवाद टुंगिएको छ । अध्ययन समितिले मंसिरमा रिपोर्ट बुझाउनेछ । सोहीअनुसार अगाडि बढ्छौँ ।

यस्तो छ तीनबुँदे सहमति

  • फुटपाथ निर्माण भइसकेको वडा नम्बर २४ को फुटपाथले पार्ने पैदलयात्रु र व्यवसायीमा पार्ने सामाजिक, सांस्कृतिक, आर्थिक प्रभावबारे अध्ययन गर्ने ।
  • वडा नम्बर २२ र २३ मा निर्माणको चरणमा रहेको फुटपाथ विस्तारले पार्ने सम्भाव्य प्रभावबारे अध्ययन गर्ने ।
  • महानगरअन्तर्गत सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीको संयोजकत्वमा अध्ययन समिति बनाउने ।

प्रकाशित मिति : २०८१, ८ श्रावण मंगलबार ००:००  ८ : ४४ बजे