२०८१, १ कार्तिक बिहीबार | Thu Oct 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्लडमनी बुझाएर स्वेदश फर्किए मृत्युदण्डको सजाय तोकिएका भुवन

रामहरिले दिए सहयोग गर्नेलाई धन्यवाद



संयुक्त अरब इमिरेट्स युएईमा मृत्युदण्डको सजाय तोकिएका भुवन श्रेष्ठ सकुशल स्वदेश फर्किएका छन् । बिरामी भएका साथीलाई अस्पताल लैजाने क्रममा निधन भएको घटनामा मृत्युदण्डको सजाय सुनाइएका ओखलढुंगाको चिशंखुगढी ३ का श्रेष्ठ ५० लाख ब्लडमनी बुझाएर स्वदेश फर्किएका हुन् ।

श्रेष्ठलाई सन् २०१९ को जुन ३ मा मध्यविन्दु नगरपालिका ११ नवलपुरका बाबुराम आलेमगरको हत्या आरोपमा पक्राउ गरी जेल चलान गरिएको थियो ।

सोही हत्या आरोपमा नेत्रवती गाउँपालिका– ४ धादिङका पहलमान थापा पनि संलग्न भएको भन्दै युएईको उपल्लो अदालतले आजीवन कारावास हुँदै ब्लडमनी बुझाउनुपर्ने फैसला गरेको थियो । पहलमान अहिलेपनि युएईको सारजाह जेलमा हुनुहुन्छ ।

हत्या आरोप लागेका भुवन र पहलमानलाई प्रतिव्यक्ति १ लाख ५० हजार युएई दिराम (जम्मा ३ लाख) दिराम पीडित परिवारलाई नेपालमा दिने तथा ५ वर्षको जेल सजाय सारजाहको उपल्लो अदालतले फैसला सुनाएको थियो ।

जेल सजाय भुक्तान गरिरहेका उनीहरूको उद्धारका लागि नेपालमा अभियान सञ्चालन गरी आर्थिक संकलन गरी पीडित परिवारलाई बुझाएपछि भुवन बुधबार साँझ सारजाह रिहाई भई राती एयर अरबिया मार्फत नेपाल फर्किएका हुन् ।

५ वर्षदेखि युएईको सारजाह जेलमा कैदी जीवन बिताइरहेका श्रेष्ठ र थापालाई बचाउन नेपालमा रकम संकलन अभियान चलाइएको थियो । भुवनका बुवा यमनारायण श्रेष्ठको याचनामा ओखलढुंगा जिल्लाबासीले सुरु गरेको सहयोग संकलन अभियानमा देश विदेशबाट रकम जम्मा भएको थियो ।

अदालतले फैसलामा तोके अनुसारको रकम पीडित परिवारलाई बुझाएपछि मृत्युदण्डको सजाय तोकिएका श्रेष्ठ र थापाको उद्धारको पहल सुरु भएको थियो ।

भुवन नेपाल फर्किएपनि पहलमान अझै जेलमै छन् । कानूनी प्रकृया पुरा गरेर उनलाई पनि नेपाल फर्काउने पहल भईरहेको छ ।

आफ्नो श्रीमान बाबुरामको हत्या हुँदा उनकी श्रीमती नरिमा आलेमगर पनि बैदेशिक रोजगारीकै क्रममा युएईमा भएको र उनैले किटानी जारीसहित अनुसन्धानका लागि निवेदन दिएकी थिइन् । सोही उजुरीका आधारमा दुबै जनालाई पक्राउ गरी अनुसन्धान गरी अदालतमा सुनुवाई भएको थियो ।

नेपाली दुतावास आबुधाबीले पीडितको तर्फबाट बहस पैरवी गर्न दुतावासका स्थानीय जनसम्पर्क अधिकृत इरफान आलमलाई खटाएको थियो ।

सबै प्रकृया पुरा गरेर नेपाल फर्किएका भुवनलाई आफन्त र जिल्लाबासीले भव्य स्वागत गरेका छन् । नेपाल फर्किएपछि भुवनले आफुहरुलाई उद्धारका लागि पहल गर्ने रकम संकलन गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

भुवनलाई काठमाडौंमा स्वागत गर्दै ओखलढुंगाका सांसद एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उनको उद्धारमा ऐक्यवद्धता जनाउने सबैलाई धन्यवाद दिँदै भुवन बचाउ अभियानले पूर्णता पाएको बताए । खतिवडाले श्रेष्ठ र थापाको उद्धारका लागि सदनमा आवाज उठाएका थिए ।

प्रकाशित मिति : २०८१, १० श्रावण बिहीबार ००:००  ४ : ३२ बजे