२०८१, २३ भाद्र आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बडीगाड पहिरोपीडित गाउँमा खानेपानी र विजुलीकाे समस्या

राहत उद्धारमा पहल गर्दै पालिका



पहिरोले प्रभावित बागलुङको बडीगाड गाउँपालिका–९ र १० का विभिन्न बस्तीमा विद्युत् सेवा र पिउने पानीको समस्या भएको छ । गत मङ्गलबार आएको पहिरोका कारण लघुजलविद्युत् आयोजना र खानेपानी योजनामा क्षति पुगेका कारण सर्वसाधारणको दैनिकी निकै कष्टकर बनेको हो ।

पहिरोका कारण यहाँका धेरै बस्ती जोखिममा परेका छन् । दर्लिङखोला लघुजलविद्युत् आयोजनाको मुहान र कुलोमा पहिरोले क्षति पु¥याएपछि वडा नम्बर ९ र १० का करिब एक हजार दुई सय घरधुरीमा विद्युत् आपूर्ति बन्द भएको वडाध्यक्ष वीरेन्द्रकुमार बुढामगरले बताए ।

विद्युत् आपूर्ति बन्द हुँदा सर्वसाधारणको दैनिकी कष्टकर भएको छ । पहिरोबाट विस्थापित ५० घरधुरीलाई सार्वजनिक स्थल र विद्यालयमा लगेर राखिएको छ । पहिरोपीडितलाई पिउने पानी, दैनिक उपभोग्य वस्तु र विद्युत्को समस्या भएको छ । खानेपानी योजनाको मुहान र ट्याङ्की पहिरोले बगाउँदा ६५ घरधुरीमा पानीको आपूर्ति बन्द भएको छ ।

अविरल वर्षाका कारण सडक अवरुद्ध हुँदा गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ । पहिरोका कारण भीमगिठे–दर्लिङ सडक र बुर्तिबाङ हुँदै आरुपाटा जाने सडक पूर्ण रूपमा बन्द भएको छ । पहिरोले धेरै ठाउँमा सडक क्षतविक्षत बनाएको छ ।

गत सोमबार राति परेको अविरल वर्षाका कारण वडा नम्बर ९ को नयाँबस्ती र १० को आरुपाटा, पात्ले, क्लावझिङ, खोर, सल्लेन धारालगायत बस्ती पहिरोको जोखिममा परेका छन् । सबैभन्दा उच्च जोखिममा पात्ले गाउँ परेको उहाँको भनाइ छ । गाउँपालिकाले प्रारम्भिक चरणको राहत वितरण गरे पनि त्यो अपुग भएको पहिरोपीडितले बताएका छन् ।

पालिकाले खाद्यान्न र त्रिपाल, बत्तीलगायत अति आवश्यक सामग्री उपलब्ध गराएको र थप राहतका लागि प्रदेश र सङ्घ सरकारसमक्ष अनुरोध गरिएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन् । “पहिरोका कारण वडा नम्बर १० मा मानवीय क्षति ठुलो भयो यसबाट पालिका दुःखी छ । वडा नम्बर ९ का विभिन्न बस्ती पहिरोको उच्च जोखिममा छन्,” अध्यक्ष अधिकारीले भनिन्, “हाम्रो पालिकामा महाविपत् नै आइलाग्यो । यसको सामना गर्ने क्षमता पालिकासँग मात्र रहेन । सङ्घ, प्रदेश र सम्बन्धित सबै निकायसँग हामीले सहयोगको अपिल गरेका छौँ ।” पहिरोपीडितलाई स्थानीय सरकारको अनुभूति दिलाउने गरी कुनै कसर बाँकी नराखी उद्धार, घाइतेको उपचार, राहत वितरण र अन्य सहयोगमा पालिका जुटेको उनले बताइन् ।

पहिरोमा परेर ११ जनाको मृत्यु भएको थियो भने एक जनाको अवस्था अझै अज्ञात छ ।

प्रकाशित मिति : २०८१, २८ श्रावण सोमबार ००:००  ४ : ४५ बजे