२०८१, २ माघ बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाल्मीकि आश्रम जोड्ने ‘लवकुश’ झोलुङ्गे पुल सञ्चालनमा



नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्मित झोलुङ्गे पुल सञ्चालनमा आएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र चितवनको माडी नगरपालिका–१, जोड्ने ‘लवकुश’ नामाकरण गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको दुई वर्षपछि सञ्चालनमा आएको हो ।

माडी नगरपालिका–१ मा पर्ने वाल्मीकि आश्रमसम्म जान उक्त पुल निर्माण गरिएको हो । विसं २०७० मा निर्माण सुरु गरिएको पुल विसं २०७९ मा सम्पन्न भएको थियो । चितवन तर्फ राष्ट्रिय निकुञ्ज पर्ने हुँदा उक्त पुल सञ्चालनमा आउन सकेको थिएन ।

करिब पाँच सय ३५ मिटर लम्बाइको झोलुङ्गे पुल रुबिना – मना जेबी ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गरेको हो । छ करोड लागतमा पुल निर्माण गरिएको हो । पुल सोमबारदेखि सञ्चालनमा आएको छ ।

पुल सञ्चालनमा आएसँगै त्रिवेणीबाट नेपालको भूभाग हुँदै वाल्मीकि आश्रम जान सकिने भएको छ । यसअघि चितवन तर्फ बाटो नभएको र नवलपुर तर्फबाटसमेत वाल्मीकि आश्रम पुग्ने बाटो थिएन ।

जसले गर्दा त्रिवेणीस्थित गण्डक बाँध पार गरी भारतको वाल्मीकि नगर र वाल्मीकि टाइगर रिजर्भ हुँदै वाल्मीकि आश्रम पुग्नुपर्ने बाध्यता थियो । नेपालको धार्मिकस्थल भारतीय बाटो हुँदै जानुपर्दा दुरी र समय धेरै लाग्ने गरेको थियो ।

अबदेखि वाल्मीकि आश्रम भारतीय बाटो हुँदै जानुपर्ने अवस्थाको अन्त्य भएको र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए । महत्वपूर्ण धार्मिकस्थल वाल्मीकि आश्रम झोलुङ्गे पुलले जोडिँदा यसको विकास, संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्ने उनको भनाइ छ । विनयी त्रिवेणीले पालिका भित्रका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरिरहेको छ ।

स्थानीय सरकारको नेतृत्वमा पूर्वाधार विकास र प्रचारप्रसारसँगै नारायणीमा ‘लवकुश’ पुल सञ्चालन भएपछि विनयी त्रिवेणीमा चहलपहल बढ्न थालेको छ ।

वाल्मीकि आश्रम धार्मिक तथा पौराणिक महत्व बोकेको क्षेत्र हो । सीताले लामो समय बिताएको, सीता पाताल प्रवेश गरेको, लव–कुशको जन्मथलो र रामायण काव्यको रचना भएको स्थल, वाल्मीकि आश्रम आफैमा ऐतिहासिक धार्मिकस्थल मानिन्छ ।

वाल्मीकि आश्रम र त्रिवेणीलाई झोलुङ्गे पुलले जोडेपछि धार्मिक पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८१, २९ श्रावण मंगलबार ००:००  १ : २८ बजे