२०८१, ३१ भाद्र सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा ७९ करोड विकास बजेट ‘फ्रिज’



ओखलढुंगाबाट गत आर्थिक वर्षमा ७९ करोड रुपैयाँ बढी रकम फ्रिज भएको छ । जिल्लाको विकास निर्माणका लागि विनियोजन भएर आएका तर समयमा काम नभएका कारण खर्च हुन नसकेको ७९ करोड रकम संघिय सरकारको खातामै फिर्ता भएको अर्थात् फ्रिज भएको हो ।

गत आर्थिक वर्ष २०८०-०८१ मा कुल ७९ करोड ३९ लाख ६२ हजार ३५५ रुपैयाँ १६ पैसा रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय ओखलढुंगाका प्रमुख कोष नियन्त्रक मनोज कुमार जोशीले जानकारी दिए । उनका अनुसार जिल्लाका लागि प्रदेश तथा सङ्घीय सरकारले विनियोजन गरेको बजेट मध्ये खर्च नभएको उक्त रकम फ्रिज भएको प्रमुख कोष नियन्त्रक जोशीको भनाई छ । ‘समयमा काम नहुँदा नियमानुसार भुक्तानी दिन सकिन्न । गत वर्ष जिल्लाको धेरै विकास बजेट फिर्ता भयो ।’ जोशीले भने, ‘प्रकृया पुगेर आएकालाई मात्रै भुक्तानी दिने गरेका छौं । अन्य रकम नियमानुसार फिर्ता हुन्छ ।’ रकम फिर्ता हुँदा जिल्लाको विकास निर्माण प्रभावित हुने भएकाले सरोकारवालाले समयमै गुणस्तरीय काम गरेर भुक्तानी लिनुपर्ने उनको सुझाव छ ।

सङ्घ र प्रदेश दुवैतर्फ आव २०८०-०८१ मा जिल्लाका लागि कूल आठ अर्ब ५४ करोड ५१ लाख ७६ हजार ११५ रुपियाँ बजेट विनियोजन भएको थियो । उक्त बजेटमध्ये सङ्घतर्फ चार अर्ब ७८ करोड ७३ लाख ६६ हजार ३१६ रुपियाँ चालु र एक अर्ब १८ करोड १२ लाख ४७ हजार ५८१ रुपियाँ पुँजीगत रहेको थियो ।

त्यस्तै गत आवका लागि प्रदेशतर्फ चालु बजेट ६२ करोड ७२ लाख ५५ हजार र पुँजीगत बजेट एक अर्ब ५५ करोड ४८ लाख ८४ हजार बजेट यस जिल्लाका लागि विनियोजन भएको थियो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लाका स्थानीय तहलाई निकासा भएको बजेटमा पनि खर्चको विवरण वर्षेनी घटेर आउने गरेको छ । विगतका वर्षदेखि नै सबैजसो स्थानीय तहले शतप्रतिशत विकास बजेट खर्च गर्न सकेका छैनन् ।

तथ्याङ्कले विकास बजेट खर्च नहुने देखाएपनि जिल्लाका दर्जनौं आयोजना भने बजेट अभावका कारण रुग्ण बनेका छन् ।

राष्ट्रिय गौरवको योजनाका रुपमा रहेका लिखु एकवार, मोलुङ एकवार, उच्चस्तरीय चक्रपथसहितका सडक, दर्जनौं सडकपुलसहितका पूर्वाधार विकासका काम वषौंदेखि बजेट अभावमा अधुरै छन् ।

प्रकाशित मिति : २०८१, २९ श्रावण मंगलबार ००:००  १ : ४६ बजे