मुगुको सिप्टीचौरमा आन्तरिक पर्यटकको चाप बढेको छ । छायाँनाथ रारा नगरपालिका–७ मा पर्ने सिप्टीचौरमा पर्यटकको आवागमन बढेको हो ।
जुम्लाको बुलबुले क्षेत्र भएर रारा ताल जाने पर्यटक यो पाटनमा ओर्लेर रमाउनेक्रम बढेको छ ।
सुर्खेत, नेपालगन्ज भएर गाडीको यात्रा गर्दै रारा गन्तव्य बनाएर आएका पर्यटकलाई यही सिप्टीचौरले थकान मेटाउन तथा प्राकृतिक सुन्दरताले स्वागत गर्ने गरेको छ ।
सिजनमा दैनिकजसो सयदेखि दुई सयजनासम्म आन्तरिक पर्यटक पुग्ने गरेकाे छायाँनाथ रारा नगरपालिका–७ का वडाअध्यक्ष गगनबहादुर शाहीले बताए । उनका अनुसार बर्खायाममा यस पाटनमा गाई–भैँसीका खर्कसमेत हुने भएकाले पाटन भएर आउने पर्यटक प्राकृतिक सुन्दरतामा रमाउने गरेका छन् । कालिका मालिका मन्दिर, सडक, बाटाे निर्माण गरिएकाे र पर्यटन प्रवर्द्धनकाे दिर्घकालिन याेजना रहेकाे उनले बताए ।
पाटनबाट सवारीसाधन भएर राराताल पुग्न एक घण्टा मात्र लाग्छ । पर्यटक अघिल्लो रात बुलबुलेमा रहेका होटेलमा बास बस्ने र बिहान एक–दुई घण्टा सिप्टीचौरमा रमाउँदै रारा पुग्छन् ।
नगरपालिका भित्रका सबै पर्यटकीय क्षेत्रको विकास र प्रचार गर्दै रारासँग स्थानीय अन्य गन्तव्यलाई जोडेर पर्यटन विकास गरिएको छायाँनाथ राराका मेयर विष्णुकुमार भामले बताए ।
छायाँनाथ राराभित्र दर्जनौं पर्यटक लोभ्याउने पर्यटकीय गन्तव्य छन् ।
स्थानीय सरकारले पूर्वाधार विकासलाई पनि पर्यटनसँग जोडिरहेको छ ।