पाँचथरको फाल्गुनन्द गाउँपालिकाले कृषि मार्फत समृद्धि खोजी गरेको छ । कृषि उत्पादनको प्रचुर सम्भावना भएको फाल्गुनन्द गाउँपालिकाले कृषि मार्फत नै किसानको उन्नति र पालिकाको समृद्धि खोजेको हो ।
परम्परागत निर्वाहमुखी खेति प्रणालीलाई सुधार गर्दै कृषिको आधुनिकिकरण र व्यवसायिककरणमा पालिकाले लगानी गरिरहेको छ ।
फाल्गुनन्दका अधिकांश नागरिक कृषि पेशामा आवद्ध छन् । उत्पादन बढाइ किसानको आयस्रोत बढाउने र पालिकालाई खाद्यन्नमा आत्मर्निभर बनाउने गरी स्थानीय सरकारले माटो परीक्षणसहितका काम गरेर जहाँ जे फल्छ त्यहाँ त्यहि खेती गर्न पकेट विकासको अवधारणा ल्याएको छ ।
वडा नम्बर १ मा आलु र मकै, वडा नम्बर ३ मा किबी, वडा नम्बर ४ मा खुर्सानी, वडा नम्बर ५ मा कोदो, वडा नम्बर ६ मा कफि र कपास र वडा नम्बर ७ मा सुन्तला खेतीको पकेट विस्तार गरिएको छ ।
फाल्गुनन्दमा १ घर एक करेसाबारी कार्यक्रम सञ्चालनमा छ । परम्परागत खेतीलाई व्यवसायिक बनाउन र किसानलाई जिवीकोपार्जनमा साथ दिन मल विउ, कृषि औजार जस्ता सामाग्री वितरणसँगै आर्थिक तथा प्राविधिक सहयोग र अनुदान दिने गरिएको छ ।
कृषि उपजको ब्राण्डिङ र बजारीकरणमा जुटेको फाल्गुनन्दले तत्काल विक्रि नभएको किसानको उत्पादन भण्डारण गर्न राँकेमा शित भण्डार स्थापना गरेको छ ।
खाद्यन्नबालीमा आत्मनिर्भर हुने, आयात घटाएर निर्यात बढाउने लक्ष्यका साथ काम गरिरहेको फाल्गुनन्दले अगुवा किसान उत्पादन र उद्यमी किसानलाई प्रोत्साहन गर्ने गरेको गाउँपालिका अध्यक्ष वृजहाङ आङदेम्बेले बताए ।
कृषिसँग पशुपालनमा फाल्गुनन्दले किसानलाई प्रोत्साहन गरिरहेको छ । मासु र दुधमा पालिकालाई आत्मनिर्भर बनाउने नीति अनुसार आर्थिक तथा प्राविधिक सहयोग गरेर किसानलाई व्यवसायिक पशुपालनमा आकर्षित गराइएको छ ।
कृषि र पशुपालनमा गाउँपालिकाले अनुदान तथा सहयोगका कार्यक्रम सञ्चालन गरेपछि किसान खुसी भएका छन् ।
विगतमा जमिन बाँझो राख्ने र खेती र पशुपालन गर्न छाडेका किसान स्थानीय सरकारको दर्विलो साथ पाएपछि पुरानै पेशा नयाँ ढंगले गर्न थालेका छन् ।
फाल्गुनन्दले किसानलाई वर्षेनी पुरस्कृत गर्दै आएको छ । गतवर्ष १६८ मुरी धान फलाउने फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनलाई ५० हजार नगद पुरस्कारसहित सम्मान गरेको थियो । अन्य किसानलाई पनि उत्पादनका आधारमा अनुदान र पुरस्कार दिँदै आएको छ ।