मकवानपुरको बकैया गाउँपालिकामा तालाबन्दी गरिएको छ । शाखाका कर्मचारीलाई जिम्मेवारी तोक्ने सामान्य विषयमा अध्यक्ष र उपाध्यक्ष बीचमा सिर्जना भएको विवादले गाउँपालिकामा तालाबन्दी भएको हो ।
गाउँपालिकाको सामाजिक र स्वास्थ्य शाखाको जिम्मेवारी तोक्ने विषयमा विवाद हुँदा पालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीको नेतृत्वमा नेकपा एमाले र माओवादी केन्द्रका जनप्रतिनिधिहरुले तालाबन्दी गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले पालिकाको स्वास्थ्य र सामाजिक दुबै शाखाको जिम्मेवारी सम्हाल्दै आएका फटिकरमण प्याकुरेललाई सामाजिक विकास र रमेश फुयाललाई स्वास्थ्य शाखाको जिम्मेवारी तोक्न खोजेपछि अध्यक्ष र उपाध्यक्षबिच विवाद भएको थियो । उपाध्यक्ष खत्रीले प्याकुरेललाई स्वास्थ्य शाखाको जिम्मेवारीमानै राख्नुपर्ने र अध्यक्ष लामिछाने आफ्नो निर्णयबाट पछि नहट्ने बताएपछि दुईबिचको विवादले उग्र रुप लिएको छ ।
गाउँपालिका अध्यक्षले एकलौटी रुपमा निर्णय गर्ने प्रवृत्ति बढेकाले विरोध गर्नुपरेको उपाध्यक्ष खत्रीले बताए । अध्यक्षले पदको दम्भ देखाएर छलफल र समन्वयनै नगरी कर्मचारीको जिम्मेवारी हेरफेर गर्न खोज्दा विवाद भएको उपाध्यक्ष खत्रीको भनाई छ । आफुले पालिकामा तालाबन्दी नगरेको जिकिर गर्दै उपाध्यक्ष खत्रीले जनप्रतिनिधिले नभई माओवादी र एमालेले पालिकामा ताला लगाएको अनलाइन सरोकारसँग बताए ।
गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले भने उपाध्यक्ष खत्रीले अनावश्यक विषयमा विवाद गरेको बताए । उनले नागरिकको सेवा सहजताका लागि समान अधिकृत स्तर छैठौं तहका दुईजना कर्मचारीको जिम्मेवारी बाँडफाँड गर्दा उपाध्यक्ष खत्रीले राजनीतिक मुद्दा बनाएको टिप्पणी गरेका छन् । ‘सामान्य प्रकृया हो कर्मचारीलाई जिम्मेवारी हेरफेर गर्ने कुरा अरु भएको केही होइन उपाध्यक्षल फुर्ति गरेका हुन् ।’ अनलाइन सरोकारसँग अध्यक्ष लामिछानेले भने, ‘गाउँपालिकामा ताला लगाउने कार्य निन्दनिय छ । हामी बसेर छलफलका माध्यमबाट समाधान खोज्छौं ।’ जनताको पक्षमा काम गरिरहेको दावी गर्दै राजनीतिक मुद्दा बनाएर विवादमा नतान्न चेतावनी समेत दिएका छन् ।
अध्यक्ष र उपाध्यक्षको तालमेल नमिल्दा बकैयामा नागरिक सेवा र विकास निर्माण प्रभावित बन्दै आएको छ । भने हरेक विषयले राजनीतिक रुप लिन थालेको छ ।
गत स्थानीय तह निर्वाचनमा गठबन्धन तर्फबाट अध्यक्ष लामिछाने नेपाली कांग्रेस र उपाध्यक्ष खत्री नेकपा माओवादीबाट निर्वाचित भएका हुन् ।