हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका– ५ थामेमा १५ निजी घर तथा होटेल, स्वास्थ्य चौकी र विद्यालय बगाएको बाढी हिमताल फुटेर आएको पुष्टि भएको छ । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले हेलिकोप्टरबाट अवलोकन गर्दा टाँसिलाप्चा क्षेत्रका दुई हिमताल फुटेको पुष्टि भएको हो ।
कसरी फुटे हिमताल यहाँ क्लिक गरेर भिडियाेमा हेर्नुहाेस्
टाँसिलाप्चा क्षेत्रमा पाँच हिमताल र दर्जनौँ साना पोखरी छन् । ठूला दुई हिमताल फुटेर बगेको ठूलो बहावले ससाना पोखरी र जमेको हिउँ पनि फुट्दा बाढीको रूप लिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललाई उद्धृत गर्दै सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) देवी पाण्डेले बताइन् । शुक्रबार बाढीले अकल्पनीय क्षति पुर्याएपछि कारण पत्ता लगाउन शनिबार हवाई अवलोकन भएको हो । प्राविधिक टोलीले थप हिमताल फुट्ने जोखिममा रहेकाले सतर्क रहन सूचित गरेको पनि पाण्डेले बताइन् ।
‘प्राविधिक टोलीसहित अवलोकन गरेर आयौँ, केही ताल फुटेर बाढी सुरु भएको देखिन्छ,’ उनले भनिन्, ‘प्राविधिक टोलीले दुई हिमताल फुटेर थामे खोलामा बाढी आएको र अझै थप दुई हिमताल तथा अन्य स–साना पोखरी फुट्ने जोखिम रहेको जानकारी दिएको छ ।’ थप जोखिमलाई ख्याल गर्दै विशेष सतर्कता अपनाउन सूचित गरिएको पाण्डेले बताइन् ।
बाढीले थामेका १५ घर, विद्यालय र स्वास्थ्यचौकी बगाएकामा थप १० घरमा आंशिक क्षति पुर्याएको छ । एउटा विद्युत्गृह पनि पूर्ण रूपले क्षतिग्रस्त बनाएको छ । पर्यटकीय गाउँ थामे खण्डहर बनेको छ । मितेरी पुल बगाउँदा खुम्बु पासाङल्हामु गाउँपालिकासँग सीधा सम्पर्क टुटेको छ । थामे खोलाआसपासमा पैदल यात्रा गर्ने बाटोसमेत छैन । सोलुखुम्बुको तल्लो तटीय क्षेत्रमा समेत बाढीले क्षति पुर्याएको छ । ओखलढुंगा र खोटाङका दुधकोशी किनारका बस्तीमा समेत उच्च सतर्कता अपनाइएको छ ।
प्रभावित परिवारलाई पालिकाको ५० हजार र जिल्ला प्रशासनबाट १५ हजार सहयोग
थामेका बाढी प्रभावितको उद्धारसँगै राहत वितरण पनि सुरु भएको छ । नेपाली सेना र नेपाल प्रहरीले प्रभावित क्षेत्रका स्थानीयलाई सुरक्षित ठाउँमा सारेका छन् । थामेबाट करिब सय स्थानीयलाई उद्धार गरेर नेपाल आर्मीको क्याम्प, सामुदायिक भवन र गुम्बाहरूमा राखिएको छ ।
प्रभावितलाई खुम्बु पासाङल्हामु गाउँपालिकाले प्रतिपरिवार ५० हजार र जिल्ला प्रशासन कार्यालयबाट १५ हजार नगर हस्तान्तरण गरेको थामे पुगेका पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष नूतन श्रेष्ठले जानकारी दिए । गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाले घर बगाएका १५ परिवारलाई प्रतिपरिवार ५० हजार र आंशिक क्षति भएका १० परिवारलाई १० हजारका दरले राहत दिएको बताए ।
स्थानीय आङडोमा शेर्पा, दादिकी शेर्पा, मिङ्मारिता शेर्पा, मिङ्मा नुरु शेर्पा, कामी तेम्बा शेर्पा, आप्पा शेर्पा, जाङ्मु शेर्पा, कामिरिता शेर्पा, टसी शेर्पा, थुप्तेन दोर्जी शेर्पा, ङिमा शेर्पा, लाक्पा ग्याल्जेन शेर्पा, मिङ्मा फुरी शेर्पा र आङफुर्वा शेर्पाको घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
रक्षामन्त्री मानवीर राईको आश्वासन– थामे पुनर्निर्माणको जिम्मा सरकारले लिन्छ
बाढीले बगर बनाएको थामेको पुनर्निर्माणको जिम्मा सरकारले लिने रक्षामन्त्री मानवीर राईले वचन दिएका छन् । जिल्लाका सांसद र प्राविधिकसहित शनिबार बिहान प्रभावित क्षेत्र पुगेका राईले थामेलाई दीर्घकालीन रूपमै सुरक्षित र सुन्दर बनाउने गरी पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएका हुन् ।
मन्त्री राईले तत्काल थप अध्ययन गरेर थामेगाउँको पुनर्निर्माण र बाढी प्रभावितको पुनस्र्थापनाको ठोस योजना बनाउन सिडिओ पाण्डेमार्फत जिल्लास्थित सरोकारवालालाई सुझाव दिएका छन् ।
‘विपतले यो सुन्दर गाउँलाई खण्डहर बनाएछ । तपाईंको जनप्रतिनिधि हुनुका नाताले तत्काल दुःखमा साथ दिन आएँ । अहिले केही राहत सामग्री आएको छ । अब तपाईंहरूको पुनस्र्थापना र गाउँको पुनर्निर्माणको काम सरकारले गर्छ, ढुक्क हुनुस्,’ उनले भने, ‘सिडियो, प्रदेश र राष्ट्रिय सभाका माननीयहरू पनि यहीँ हुनुहुन्छ, तपाईंहरूले तत्काल यो गाउँको पुनर्निर्माणको ठोस योजना ल्याउनुस्, म केन्द्रबाटै पहल गर्छु ।’ मन्त्रिपरिषद्बाटै विशेष राहत तथा पुनस्र्थापनाको निर्णय गराउन सक्दो पहल गर्ने उनको आश्वासन थियो ।