सिन्धुलीको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान स्मार्ट सडक बत्तिको योजना बोकेर विद्युत प्राधिकरण पुगेका छन् । बढ्दो शहरीकरणसँगै सडकमा जोखिम बढेको र मरिणको मुख्य सडक आसपासमा स्मार्ट सडक बत्ति जडान गर्ने आफ्नो योजना बोकेर बजेट माग्न अध्यक्ष मुक्तान प्राधिकरण पुगेका हुन् ।
कतिपय विद्युत नपुगेका ठाउँहरुमा विद्युतिकरण गर्ने, समस्या देखिएका ठाउँमा तार पोलसहित आवश्यक उपकरणहरु मर्मत एवं परिवर्तन गर्ने र मरिण गाउँपालिकामा पर्ने मदनभण्डारी राजमार्गमा स्मार्ट बत्ति जडान गर्ने प्रस्ताव बोकेर प्राधिकरण पुगेका मरिणका अध्यक्ष विमर्श मुक्तान र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बीच भेटवार्ता भएको छ । भेटमा अध्यक्ष मुक्तानले समग्र सिन्धुली र मरिणको विद्युत विकासको योजना प्रस्ताव गरेका थिए ।
सो क्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मरिणमा स्मार्ट सडक बत्ति जडानको योजनामा बजेट दिने बचन दिएका छन् । पालिकाभित्र स्मार्ट सडक बत्ति राख्दा ४०-६० प्रतिशतका योजना दोहोरो साझेदारीमा सञ्चालन गर्नुपर्ने भन्दै घिसिङले पालिका ६० प्रतिशत लगानी गर्न तयार भए प्राधिकरणले ४० प्रतिशत बजेट दिने बताए ।
मरिणका अध्यक्ष मुक्तानले नियमानुसार बजेट व्यवस्था गर्ने पालिकाको योजना रहेको बताएपछि मरिणमा स्मार्ट सडक बत्ति राख्ने समझदारी भएको छ ।
अध्यक्ष मुक्तानसहित सिन्धुलीका सांसद लेखनाथ दाहाल र मरिणका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीलगायत सहभागी भेटमा समग्र सिन्धुलीको विद्युतीकरणको अवस्था, समस्या र आवश्यकताका विषयमा समेत छलफल भएको थियो ।