हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा नयाँ कमला पुल निर्माण संघर्ष समिति र मधेश प्रदेश सरकारबीच चार बुँदे सहमति भएको छ । वार्ताबाट चार बुँदे सहमति भएपछि समितिले आफ्नो आन्दोलन स्थगन गरेको छ।
समितिका प्रतिनिधि र मधेश प्रदेश सरकारका बीचमा भएको वार्तामा नयाँ कमला पुलको निर्माण कार्य तत्काल सुरु गरिने सहमति भएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेटमा संघ सरकारमार्फत आवश्यक बजेटको व्यवस्था गर्ने प्रयास गर्ने र संघ सरकारबाट बजेट उपलब्ध नगरिएमा, सम्पूर्ण खर्च मधेश प्रदेश सरकारकै श्रोतबाट व्यवस्था गरिने सहमति भएको छ।
यसबाहेक, पुल निर्माणका लागि आवश्यक डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) तयार पार्न २०८१ मंसिर १ भित्र बोलपत्र आह्वान गरिने सहमति भएको छ । यो संगै संघर्ष समितिले आफ्ना सबै कार्यक्रमहरू आजको मितिबाट स्थगित गरेको छ।
सहमति पत्रमा मुख्यमन्त्री सतिशकुमार सिंह र संघर्ष समितिका संयोजक इन्जिनियर प्रविण यादवले हस्ताक्षर गरेका छन् । गत भदौ ४ गतेदेखि संघर्ष समितिका संयोजक इन्जिनियर यादवको नेतृत्वमा १० जना आमरण अनशन बसेका थिए ।