२०८१, २ माघ बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मर्स्याङ्दीमा खसेकाे बसबाट १४ जनाको शव निकालियाे, १६ घाइतेको उद्धार, १३ जना बेपत्ता



तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ ।

दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता थापाले जानकारी दिए । शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस नदी किनारमा अड्किएको छ ।

बस दुर्घटना हुँदा ठूलै हताहती भएको प्रहरीले बताएको छ । तनहुँका डीएसपी दीपक कुमार रायले उद्दारको क्रम जारी भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताएका छन् । उनका अनुसार बसमा चालक, सहचालकसहित  ४३ जना थिए ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ ।

घटनास्थल भिरालो र अप्ठ्यारो भएकाले उद्धारकर्ता डोरीको सहायताले बस भएको स्थानसम्म पुगेर उद्धारमा सक्रिय छन् ।

प्रकाशित मिति : २०८१, ७ भाद्र शुक्रबार ००:००  १ : ५२ बजे