प्रतापपुर गाउँपालिकाले स्थानीय स्तरमै रोजगारी सिर्जना गरेर गरिबी उन्मुलन गर्ने नीति ल्याएको छ । प्रतापपुरले बेरोजगार युवालाई सीप र स्रोत साधनसहित आर्थिक तथा प्राविधिक सहयोग गरेर पेशा व्यवसायमा लगाउने र कृषि तथा पशुपालनलाई व्यवसायिक बनाएर सबै नागरिकलाई स्वरोजगार र आत्मनिर्भर बनाउने नीति लिएको हो ।
गरिबीको रेखामुनी रहेको लोपोन्मुक जाती मुसहर समुदायको साक्षरता दर बढाउने, सचेतना र जागरणका कार्यक्रम मार्फत आत्मास्वाभिमान बनाउने र आयआर्जन हुने अवस्था सिर्जना गरेर आत्मनिर्भर समेत बनाउनेगरी पालिकाले काम गरिरहेको पालिका अध्यक्ष उमेश चन्द्र यादवको भनाइृ छ । ५ वर्षभित्र गरिबी उन्मुलन गर्ने लक्ष्य अनुसार वार्षिक सयौं स्थानीयलाई सिप सिकाउने र व्यवसायीक बनाएर आत्मनिर्भर बनाउने अभियान चलाईएको अध्यक्ष यादवको भनाई छ ।
प्रतापपुरले लक्षित वर्ग विशेष कार्यक्रमलाई समेत उत्पादनसँग जोड्ने गरेको छ । बेरोजगारी समस्या समाधान गरेर विदेशीने युवालाई गाउँमै रोक्ने र स्थानीय स्तरमै व्यवसाय गर्ने युवालाई पालिकाले अनुदानसहितका सहयोग गर्दै आएको छ ।
प्रतापपुरले चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा पनि उत्पादनमुलक क्षेत्रलाई नै प्राथमिकता दिएको छ ।