२०८१, २३ भाद्र आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संघीय सरकार विरुद्ध आन्दोलन गर्दै छिन्नमस्ताका जनप्रतिनिधि

अलपत्र सडक निर्माणको काम सक्न माग



ठेकेदारले सडक निर्माणको काम समयमा सम्पन्न नगरेपछि सप्तरीको छिन्नामस्ता गाउँपालिकाका जनप्रतिनिधि संघीय सरकार विरुद्ध आफैं आन्दोलनमा उत्रिने भएका छन् । सप्तरीको छिन्नमस्ता शक्तिपीठसम्म पुग्ने रुपनी–छिन्नमस्तादेखि भारतीय नेउर बोर्डरसम्मको सडक तोकिएको समयमा निर्माण नभएको र पटक पटक नियामक निकायलाई अनुरोध गर्दापनि कुनै सुनुवाई नभएपछि छिन्नमस्ताका जनप्रतिनिधिहरू आन्दोलित बनेका हुन् ।

लामो समयदेखि सडक खनेर छोड्दा खाल्डाखुल्डी भएर आवतजावतमा समस्या हुँदै आएको र ध्यानाकर्षण गराए पनि काम नगरेको भन्दै केही दिन अघि सडक डिभिजन कार्यालय लहानमा दवावमुलक धर्ना बसेका छिन्नामस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी नेतृत्वका जनप्रतिनिधिहरुले अब सिंहदरबार केन्द्रित आन्दालेन गर्ने भएका हुन् ।

छिन्नमस्ताका जनप्रतिनिधिहरूले सडक डिभिजन कार्यालय लहान अगाडि धर्ना दिँदै आएका थिए । तर, त्यसको प्रभाव नदेखिएपछि काठमाडौंकेन्द्रित आन्दोलनको चेतावनी दिएका हुन् ।

नेपाल र भारत दुवैतर्फबाट शक्तिपीठ जोड्ने सडक निर्माण नहुँदा पर्यटकहरूलाई आवागमनमा समस्या भएको भन्दै स्थानीयवासी र जनप्रतिनिधिले आन्दोलन गर्दै आएका छन् ।

छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले सडकको दूरवस्थाका कारण पछिल्लो समय छिन्नमस्ता शक्तिपीठ आउने भक्तजन र पर्यटकहरूको संख्यामा कमी आएको र स्थानीयलाई समेत आवतजावतमा समस्या भएको बताउँदै रुग्ण सडक निर्माणका लागि सिंहदरबार र संघीय संसद् वरिपरि आन्दोलन गर्ने घोषणा गरेका छन् ।

जनप्रतिनिधि नै अगुवा भएर थालेको आन्दोलनलाई पालिकावासीले साथ दिइरहेका छन् ।

सडक डिभिजन कार्यालयले २५ करोड ८८ लाख दुई हजार रुपैयाँमा साह इन्जिनियरिङ प्रालिलाई सडक निर्माणको ठेक्का दिएको थियो । तर, गत असारमै निर्माण सम्पन्न भइसक्नुपर्ने सडकमा हालसम्म १३.३३ प्रतिशत मात्रै काम भएको छ ।

समयमा सडक निर्माणको काम सम्पन्न नहुँदा वर्षामा हिलो र हिउँदमा धुलोको समस्या छ ।

प्रकाशित मिति : २०८१, ११ भाद्र मंगलबार ००:००  ८ : ३७ बजे