रोल्पाको रुन्टीगढी गाउँपालिकाले अतिक्रमित जग्गा संरक्षण गरेर होलेरी बजार व्यवस्थापनको काम थालेको छ । गाउँपालिकाको केन्द्र रहेको होलेरीमा मन्दिर, विद्यालय तथा सामुदायिक वन र सडक आसपासमा मापदण्ड मिचेर बनाइएका घरटहरा हटाएर सुन्दर बजारका रुपमा होलेरीलाई विकास गर्न लागेको हो ।
बजार क्षेत्रको सार्वजनिक जग्गा वर्षौ अघिदेखि स्थानीयले अतिक्रमण गरेर अस्थायी घरटहरा बनाई उपभोग गर्दै आएकोमा पालिकाले तत्काल मापदण्ड विपरितका संरचना हटाउने र सार्वजनिक स्थलमा सुन्दर पर्यटकीय पूर्वाधार विकास गर्ने र होलेरीलाई आकर्षक बजार बनाउने गरी काम गरिरहेको रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले अनलाइन सरोकारसँग बताए । भुमी सम्बन्धि समस्या समाान गर्ने सरकारी नीति अनुसार भुमिहिन हरुलाई समेट्ने र अतिक्रमण गरेको सार्वजनिक जग्गा फिर्ता ल्याएर संरक्षण गरिने अध्यक्ष पुनको भनाई छ ।
पहिलो चरणमा पालिकाको केन्द्र होलेरीबाट सार्वजनिक जग्गा संरक्षणको अभियान सुरु भएको छ ।
पालिकाभित्रका सबै अतिक्रमित जग्गा फिर्ता ल्याएर सरकारी नियमानुसार संरक्षण गर्ने नीति अनुसार रेखाङ्कनको काम थालिएको छ ।
रुन्टीगढीमा पालिका भित्र करिब ३५० भन्दा बढी स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण गरेका छन् ।
रुन्टीगढीको प्रमुख केन्द्रको रुपमा रहेको होलेरी बजारको जग्गा बर्षाैदेखि विवादित बन्दै आएको भएपनि अतिक्रमित जग्गामा बनेका संरचनाहरु हटाउनका लागि प्रारम्भिक कार्य समेत अगाडि बढ्न नसक्दा सो विषयमा स्थानीय सरकार समेत पटक–पटक आलोचित बन्दै आइरहेको थियो ।
अतिक्रमित भएको भनिएको देवी भगवती मन्दिरको जग्गा फिर्ता गरेर त्यहाँ अर्को मन्दिर निर्माणको काम थालिएको छ ।
पालिकाले सार्वजनिक जग्गा संरक्षणको नीति ल्याएपछि रुन्टीगढीका मिचिएका जमिनहरु स्थानीयले फिर्ता गर्दै स्थानीय सरकारको नीति कार्यान्वयनमा सहयोग गर्न थालेका छन् ।