काठमाडौ । सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर २ मा अशक्त अपाङ्गको घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ताका लागि कागजात नविकरण गरिएको छ । वडा अध्यक्ष मुकुन्द पौडेलको नेतृत्वमा वडाका कर्मचारीले शसक्त अपाङ्गता भएका नागरिकका घरघरमा पुगेर कागजात नविकरण गरेका हुन् ।
केही दिनअघिबाट सुरु भएको नविकरण अभियानमा वडा कार्यालयमा आएर नविकरण गर्न नसक्ने अवस्थाका ३५ जनाको विवरण अद्यावधिक गरिसकिएको र अब बाँकी करिब ३५ जनाको घरघरमै पुगेर नविकरण गरिने वडा अध्यक्ष पौडेलले बताए । अध्यक्ष पौडेलका अनुसार तीनपाटन २ मा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या ४ सय ५० छ ।
वडाले घरघरमै आएर विवरण अद्यावधिक गरेपछि वृद्धवृद्धा अशक्त र अपाङ्गता भएकाहरुलाई राहत मिलेको छ । अक्सिजन लगाएर उपचार गराइरहेका बिरामीलाई समेत घरैमा पुगेर वडाका प्रतिनिधिले सेवा दिएका छन् ।