२०८१, ३१ भाद्र सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशमै पहिलो पटक खिजीदेम्बा गाउँपालिकाद्धारा सगरमाथा आरोहीलाई सम्मान



देशमै पहिलाे पटक ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले सगरमाथा आरोहीलाई भव्य सम्मान गरेको छ । खिजीदेम्बा भित्रका सबै सफल सगरमाथा आरोही ४६ जनालाई पालिकाले काठमाडौंमा भव्य कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो ।

सन् २००१ मा खिजीदेम्बा ९ का दोर्जी शेर्पाले ओखलढुंगा जिल्लाबाटै पहिलो पटक सगरमाथा आरोहण गरेका थिए । त्यसयता खिजीदेम्बाबाट मात्रै हालसम्म ४६ जना आरोहीले सगरमाथा आरोहण गरेका छन् । खिजीदेम्बाकै जाङ्बु शेर्पाले २२ औं पटक सम्म सगरमाथा चढिसकेका छन् ।

सबै आरोहीलाई एउटै समारोह मार्फत पालिकाले पर्यटन मन्त्री बद्रिप्रसाद पाण्डेको हातबाट सम्मान गरेको छ ।

‘स्वावलम्बी, कीर्तिमानी र कर्मशिलहरुलाई खिजीदेम्बाको साथः सहासिक पदयात्रा मार्फत पर्यटन प्रबर्द्वनमा मिलाऔं हातमा हात’ भन्ने उद्घोष सहित सोही कार्यक्रमकै अवसरमा आरोही कुंगा शेर्पालाई खिजीदेम्बाको पर्यटन सद्भावनादूत घोषणा गरिएको छ । ७ पटक सगरमाथा आरोहण गरेर पालिकाको लोगो समेत सगरमाथामा फहराएका आरोही शेर्पालाई ३ वर्षका लागि सद्भावनादूत बनाइएको हो ।

पालिकाको पर्यटन प्रवद्र्धन र आरोहीहरुको मनोवल उच्च बनाउन सम्मानसहित सद्भावनादूत घोषणा गरिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताए । खिजीदेम्बा पर्यटनको प्रचुरसम्भावना भएको पालिका रहेको र यहाँका अधिकांश शेर्पा समुदायका नागरिक पर्यटन व्यवसायमा संलग्न रहेकाले स्थानीय सरकारले अभिभावकत्व प्रदान गरेको अध्यक्ष शेर्पाको भनाई छ ।

राज्यको तर्फबाट अपेक्षीत सहयोग नपाएको अवस्थामा पहिलो पटक आफ्नो गाउँपालिकाले सम्मान गरेर हौसला दिएको आरोहीहरुले बताएका छन् । पालिकाको सम्मान ग्रहणगर्न पाउँदा पहिलोपटक सगरमाथा आरोहण गर्दा जतिकै खुसी मिलेको ओखलढुंगाकै पहिलो महिला सगरमाथा आरोही मायाँ शेर्पाले बताइन् ।

आरोही र पर्यटन व्यवसायीले पर्यटनका क्षेत्रमा सरकारले ठोस् कार्यक्रम ल्याउनुपर्ने माग गरेका छन् ।

कार्यक्रममा संसदको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा, संविधानसभा सदस्य यज्ञराज सुनुवार, प्रदेश सांसद प्रदिप सुनुवारले ओखलढुंगाको पर्यटन विकासका लागि पहल गरिरहेको बताएका थिए । खिजीदेम्बाले आरोहीको सम्मान र पर्यटन सद्भावनादूत घोषणा गरेर रचनात्मक काम गरेको भन्दै नेताहरुले पालिकाको प्रशंसा समेत गरेका छन् ।

खिजीदेम्बाका सगरमाथा आरोहीलाई सम्मान गर्दै पर्यटन मन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटन विकासलाई  सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए । खिजीचण्डेश्वर एयरपोर्ट सञ्चालन देखि ओखलढुंगाको पर्यटन विकासका लागि योजना ल्याउन आग्रह गर्दै मन्त्री पाण्डेले पर्वतारोहीको योगदानलाई संस्थागत गर्न सरकारले योजना बनाउने प्रतिवद्धता जनाए ।

ओखलढुंगाको दुर्गम गाउँ खिजीदेम्बा पर्यटनको प्रचुरसम्भावना भएको पालिका हो । नेपालका घुम्न लायक सय गन्तव्य सूचिमा पर्ने थोलेदेम्बासहितका दर्जनौं पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा पालिका जुटेको छ ।

प्रकाशित मिति : २०८१, १६ भाद्र आइतबार ००:००  ६ : १८ बजे