२०८१, ३१ भाद्र सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘तीजको सांस्कृतिक महत्व जोगाऔं, तर आधुनिक समाज सुहाउँदो बनाऔं’



शैक्षिक क्षेत्रका अगुवाहरुले नेपाली महिलाहरुले मनाउने तीज पर्वको सांस्कृतिक महत्व जोगाउँदै आधुनिक समाज सुहाउँदो बनाउनुपर्नेमा जोड दिएका छन् । पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले बल्खुमा आयोजना गरेको ‘तीज विशेष कार्यक्रम’ मा शैक्षिक क्षेत्रका अगुवाहरुले पुरानो संस्कार र सामाजिक सांस्कृतिक महत्व बोकेको चाड तीजलाई युग सुहाउँदो बनाउनुपर्ने धारणा राखेका हुन् ।

विभागअन्तर्गत स्नातकोत्तर (एमए) दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूद्वारा आयोजित कार्यक्रम कार्यक्रमका प्रमुख अतिथि विभागका प्रमुख डा. कुन्दन अर्यालले तीज मनाउने तौरतरिका समयसापेक्षित रूपमा परिवर्तन हुनुपर्ने बताए । “५०÷६० वर्ष अगाडिको तीज र अहिलेको तीज उस्तै हुनुहुन्न,” प्रमुख अर्यालले भने, “अब रुँदै माइतीघर जाने होइन, हाँसेरै जाने हो । श्रीमान्को खुट्टाको पानी खाने, यसो गर्ने उसो गर्ने अब हुनुहुन्न ।” नेपालीहरुले मनाउने चाडबाड मध्येको बढी अर्थपूर्ण चाड भएपनि यो आधुनिक समाजसँग मिल्दोजुल्दो हुन नसकेको यद्यपि आधुनिकताका नाममा खर्चिलो र भड्कीलो बन्दै गएकाले तीजको महत्व जोगाउँदै समय र समाजको विकासक्रमसँग सुहाउँदो पर्वका रुपमा मनाईनु पर्ने बताका हुन् ।

कार्यक्रमका विशिष्ट अतिथि उपप्राध्यापक डा. देवराज अर्यालले शैक्षिक संस्थामा आयोजित त्यस्ता सांस्कृतिक कार्यक्रमले तीजको मौलिकता संरक्षण गर्न मद्दत पुग्ने बताए । “विद्यार्थीहरूलाई हामीले प्रेजेन्टेसन गराउँछौं, विद्यार्थीहरूले यसरी विभिन्न कार्यक्रमको आयोजना गर्छन् । यी कार्यक्रमहरू आपसमा सहयोगी बन्छन्,” अर्यालले भने, “यस्ता कार्यक्रमहरूले छुट्टै अर्थ राख्छन् । यो विद्यार्थीहरूको व्यक्तित्वसँग जोडिने कुरा पनि हो ।” उपप्राध्यापक डा. घमराज लुइँटेलले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग त्रिविका अरु विभागहरूभन्दा सक्रिय रहेको बताए ।

यस्तै उपप्राध्यापक शशी मरासिनी, लेक्चरर लक्ष्मण हुमागाईं, एमए तेस्रो सेमेष्टरका नेता विद्यार्थी बाबुराम आचार्य लगायतले धारणा राखेका थिए ।

साङ्केन राईको अध्यक्षतामा भएको कार्यक्रम रन्जु अधिकारीले सञ्चालन गरेकी थिइन् ।

प्रकाशित मिति : २०८१, १९ भाद्र बुधबार ००:००  ५ : ५२ बजे