२०८१, २ आश्विन बुधबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतापपुरका अध्यक्षले राज्यसँग उधारो सम्झौता नगर्ने,२८ गतेबाट आमरण अनसन बस्ने



पश्चिम नवलपरासीमा हुलाकी सडक निर्माणको काममा ढिलासुस्ती भएको भन्दै धर्नामा बसेका प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले राज्यसँग अब उधारो सम्झौता नगर्ने अडान लिएका छन् । हुलाकी सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयले सास्ती पाएपछि राज्यका विभिन्न निकायको ध्यानाकर्षणसहित पहल गर्दा सुनुवाई नभएपछि आन्दोलन गर्दै धर्ना र रिलेअनसनमा बस्दापनि राज्यले माग सुनुवाई नगरेपछि अध्यक्ष यादवले काम सुरु नभएसम्म आन्दोलन नरोक्ने अडान लिएका हुन् ।

प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको नेतृत्वमा जिल्लाका राजनीतिक दल, सरोकारवाला र स्थानीयहरु  धर्नामा बसिरहेका छन् ।

प्रशासन कार्यालयअगाडि नै बसेको धर्ना र रिलेअनसन जस्ता कार्यक्रममा प्रशासनले तत्काल काम सुरु गर्न पहल गर्ने आश्वासन दिएर सम्झौतामा बोलाएपनि आफुले काम सुरु नहुँदा सम्म आन्दोलन नरोक्ने बरु माग पुरा नभए २८ गतेबाट आमरण अनसन बस्ने तयारी गरिरहेको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले अनलाइन सरोकारसँग बताए ।

यसअघि अध्यक्ष यादवले संघ सरकारलाई पत्राचार गर्दै १५ दिनभित्र काम अगाडि नबढाए धर्ना र आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।

हुलाकी सडक निर्देशनालयअन्तर्गत गोपीगन्जदेखि बेलाटारीसम्मको ६.५ किलोमिटर सडक ६ वर्ष हुँदा पनि सम्पन्न नभएपछि पालिका अध्यक्षले नै दवावमुलक कार्यक्रमको नेतृत्व गरेका हुन् ।

सडक निर्माणका क्रममा खनिएका खाडलले गर्दा हिउँदमा धूलो र वर्षामा हिलोले दैनिकजसो सवारी दुर्घटना हुने गरेको छ। ठेकेदार कम्पनी बज्रगुरु महालक्ष्मी र हुलाकी सडक निर्देशनालयसँग पटक–पटक समन्वय गर्दा पनि काम अघि नबढेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तत्काल पहलकदमी लिन माग गरिएको छ ।

२०७० सालमा निर्माण सम्पन्न हुनुपर्ने सडक अझै सम्पन्न भएको छैन । जसका कारण स्थानीयले जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था छ । जिल्लाका राजनीतिक दलका प्रतिनिधिले सडक निर्माणको काम तत्काल अगाडि बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई पनि ज्ञापनपत्र बुझाएका छन् ।

२५ गते देखि इलाका प्रशासन कार्यालय सेमरी अगाडि रिले अनशन बसेको आन्दोलनरत समुह भदौ २८ गतेदेखि आमरण अनशनमा बस्ने तयारीमा छ ।

प्रकाशित मिति : २०८१, २६ भाद्र बुधबार ००:००  ५ : २५ बजे