२०८१, ३ आश्विन बिहीबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उत्कृष्ट स्थानीय तहका प्रमुखलाई कांग्रेसको सम्मान

सम्मानले थप प्रेरणा मिलेकाे जनप्रतिनिधिको प्रतिक्रिया



नेपाली कांग्रेसले कांग्रेस पार्टीबाट उम्मेदवार भई निर्वाचित भएर उत्कृष्ट काम गर्ने स्थानीय तहका प्रमुखहरुलाई सम्मान गरेको छ । २०७९ मा भएको स्थानीय तह निर्वाचनमा रुख चिन्हबाट चुनाव जितेर देशभर उत्कृष्ट काम गरेका नगरपालिका र गाउँपालिकाका प्रमुखलाई सम्मान गरेको हो ।

कांग्रेसले २०७९ को स्थानीय तह चुनावमा तीन सय २९ वटामा प्रमुख पद जितेमा तीमध्ये उत्कृष्ट काम गरेका प्रमुखहरुलाई सम्मान गरिएको नेपाली कांग्रेस स्थानीय तह समन्वय विभागका प्रमुख मधु आचार्यको भनाई छ । महालेखा परीक्षकलगायत विभिन्न सरकारी निकायले विभिन्न समयमा गरेका मुल्याङ्कनमा उत्कृष्ट ठहरिएका स्थानीय तहका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरिएको उनको भनाई थियो ।

केन्द्रीय कार्यालय सानेपामा भएको कार्यक्रमा पार्टी सभापति शेरबहादुर देउवाले उत्कृष्ट काम गरेका स्थानीय तह प्रमुखहरूलाई सम्मान गरेका हुन् ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका मेयर विमला राई, धादिङको ज्वालामुखी गाउँपालिका अध्यक्ष यमना दनै, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा, धादिङको नेत्रावती दबजोङ गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल, नुवाकोटको म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङ, सर्लाहीको विष्णु गाउँपालिका अध्यक्ष जवाहरलाल यादव, काठमाडौंको नाजार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत, काभ्रेको पनौती नगरपालिकाका मेयर रामशरण भण्डारी, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारी, पर्वतको जलजला गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य, गुल्मीको मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवर, धादिङकै नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, रूपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँण, चितवनको रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा, सिन्धुलीको ध्याङलेख गाउँपालिका अध्यक्ष जगतबहादुर भोलन, दैलेखको महाबु गाउँपालिका कार्यवाहक अध्यक्ष मञ्जुकुमारी शर्मा, हुम्लाको सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाय, इलाम नगरपालिकाका मेयर केदार थापा, चितवनको खैरहनी नगरपालिका मेयर शशीकुमार खनियाँ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका मेयर आइतमान तामाङलाई कांग्रेसले सम्मान गरेको छ ।

स्थानीय तहका प्रमुखहरुलाई सम्मान गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले संघ, प्रदेश र स्थानीय तह मिलेर विकास निर्माणका काम गर्नुपर्ने बताएका छन् । स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिले राम्रो काम गर्दा कांग्रेस बलियो हुने देउवाको भनाई थियो ।

कांग्रेस महामन्त्री गगन थापाले आगामी निर्वाचनहरुमा कांग्रेस एक्लै मैदानमा जाने भएकाले सोही अनुसार तयारी थाल्न आग्रह गरेका छन् । स्थानीय तहमा रिक्त रहेका ठाउँमा उपनिर्वाचन हुने भएकोले त्यसको तयारीमा जुट्न महामन्त्री थापाले निर्देशन समेत दिएका छन् ।

नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना र गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले स्थानीय तह संघीयताको जग भएकोले यसलाई बलियो बनाउन आवश्यक रहेकोमा जोड दिएका छन् ।

सम्मानित स्थानीय तहका प्रमुखहरुले पार्टीले दिएको सम्मानले थप हौसला मिलेको प्रतिक्रिया दिएका छन् । पार्टीले केन्द्रियस्तरबाटै कार्यसम्पादन मुल्याङ्कन गरेर गरेको सम्मानले थप जनपक्षिय काम गर्ने प्रेरणा मिलेको हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमला राईले बताइन् ।

प्रकाशित मिति : २०८१, २७ भाद्र बिहीबार ००:००  ९ : ११ बजे