२०८१, २७ फाल्गुन मंगलबार | Tue Mar 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लाको गुठिचौरमा प्याराग्लाइडिङ महोत्सव सुरु, पर्यटन प्रवर्द्धनमा फड्को



जुम्लाको गुठिचौरमा प्याराग्लाइडिङ महोत्सव सुरु भएको छ । पर्यटनको प्रचुर सम्भावना भएको गुठिचौरमा स्काई फेष्टिबल अर्थात् आकासे पर्वका रुपमा प्याराग्लाइडिङ महोत्सव आयोजना गरिएको हो ।

जुम्लाको गुठिचौर गाउँपालिकाले पोखराबाट प्राविधिक टिम झिकाएर चारदिने महोत्सव सुरु गरेको हो ।

वरिपरि डाँडा बिचमा चौर भएको अत्यन्तै रमणीय क्षेत्र गुठिचौरमा गाउँपालिकाले आयोजना गरेको प्याराग्लाइडिङ महोत्सवमा राइडरले आकाशमा उडेपछि हेर्ने स्थानीयको भिड लागेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य र गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले महोत्सवको उद्घाटन गरेका छन् । गुठिचौरको मैदानमा रिवन काटेपछि डाडाँबाट प्याराग्लाइडिङ उडान गरिएको थियो ।

प्याराग्लाइडिङ हेरेर र उडेर रमाउन जुम्ला र आसपासका स्थानीयहरु अहिले गुठिचौर आइपुगेका छन् ।

गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले पर्यटकीय गुठिचौरमा सबैको ध्यान आकर्षण भएको र पर्यटकीय आधार तयार गरि आर्थिक उपार्जनका लागि महोत्सवको सुरुवात भएको बताए । यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अध्यक्ष बुढाको भनाई छ ।

महोत्सव भदौ ३१ गतेसम्म महोत्सव हुने भनिएता पनि टिकट धेरैले काटेपछि सबैलाई उडाएर मात्र महोत्सव समापन गर्ने तयारी छ । गाउँपालिकाले २ महिना अघि परीक्षणका लागि वावु एडभाञ्चर प्रा.लीलाई जुम्ला ल्याएर सफल परीक्षण गरिएको थियो । एउटा उडानको गुठिचौर गाउँपालिका निवासीलाई रु. ३ हजार र बाहिरकालाई रु. ४ हजार शुल्क निर्धारण गरिएको छ ।

वरिपरि पहाड र बिचमा बृहत् चौरले घेरिएको गुठिचौरमा गाउँपालिकाले महोत्सवको अवसर पारेर खुला पुरुष भलिबल प्रतियोगिता र खुला महिला देउडा प्रतियोगिता सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : २०८१, ३१ भाद्र सोमबार ००:००  १२ : ०५ बजे