२०८१, १२ आश्विन शनिबार | Sat Sep 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महाशिलामा बसाइँ आउने र थातथलो फर्किनेले १ लाख नगद र ६ महिनाकाे खाद्यान्न खर्च पाउने

बाँझो जमिनमा खेती गर्नेले प्रति रोपनी १ हजार नगद र उत्पादनका आधारमा अनुदान पाउने



पर्वतको महाशिला गाउँपालिकाले पालिका भित्र बसाइँ सरेर आउने र थातथलो फर्किनेलाई एक लाख अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्न खर्च दिने भएको छ । स्थानीय सरकारको सकृयतामा विकास गाउँ पुग्यो तर गाउँमा बसोबास गर्नेहरु अन्यठाउँ बसाइँजान थालेपछि आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू थातथलो फर्किएमा महाशिला गाउँपालिकाले एक लाख अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च दिने भएको हो ।

सन्ततीको शिक्षा, रोजगारी र सुविधाको खोजिमा पछिल्लो समय पहाडी क्षेत्रका गाउँहरुबाट बसाइँ जानेको संख्या बढ्दो छ । एक वर्षमा पर्वतको महाशिला गाउँपालिकाबाट मात्रै ९३ परिवारका तीन सय २५ जना बसाइँ सरेर अन्यन्त्र गएका छन् ।

नागरिकहरु गाउँ छाडेर शहर पस्दा खेती योग्य जमिन बाँझो बसेको र गाउँमै आर्थिक उपार्जनको सम्भावना हुँदाहुँदै गाउँ छाड्नेको संख्या बढेकाले त्यसलाई रोक्न पालिकाले विशेष नीति ल्याएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले अनलाइन सरोकारसँग बताए । गाउँपालिकाले चालू आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागू गरेको हो ।

पालिका अध्यक्ष भुसालका अनुसार मशाशिलामा अन्यन्त्रबाट बसाइँ आउने र गाउँ छाडेर गएकाहरू फर्किएमा उनीहरूले अनुदान पाउने छन् । गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा ६ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यको भरणपोषका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलब्ध गराउने छ । चामल, दाल, तेल, तरकारीका निम्ति पनि पालिकाले अनुदान दिनेछ ।

पालिकाबासीलाई गाउँमै नागरिकलाई आत्मनिर्भर बनाउन र उत्पादन बढाउन महाशिलाले बाँझो जग्गा सरसफाई गरेर खेती गर्नेलाई प्रति रोपनी १ हजार नगद दिनेछ । कृषि उत्पादनका लागि किसानलाई आवश्यक आर्थिक तथा प्रविधिक सहयोग गर्नेछ र उत्पादनका आधारमा महाशिलाले अनुदान समेत दिनेछ ।

गाउँमै आर्थिक उपार्जन गरेर आत्मनिर्भर बन्न पाउने र स्थानीय विद्यालयमै गुणस्तरीय शिक्षा प्रदान गर्ने सुनिश्चितता गरिएकाले यो कार्यक्रम प्रभावकारी हुने पालिकाको अपेक्षा छ ।

नेपालका धेरैजसो पहाडी क्षेत्रका पालिकाबाट बसाइँ सरेर अन्यन्त्र जानेको संख्या बढ्दो छ । अझ गाउँमा खेतबारी बाँझो राखेर शहरमा बसोबास गर्नेहरुको संख्या अझै धेरै छ ।

देशभर बढ्दो यो समस्या समस्या समाधानका लागि महाशिलाले अघि सारेको योजना प्रभावकारी भए यो कार्यक्रम अन्य स्थानीय तहका लागि समेत सिकाई हुनेछ ।

पालिकाले याे नीति ल्याएसँगै यसैवर्ष १५ परिवार थातथलो फर्किएका छन् ।

प्रकाशित मिति : २०८१, ९ आश्विन बुधबार ००:००  ३ : ३४ बजे