२०८१, १९ आश्विन शनिबार | Sat Oct 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विपत् प्रभावितलाई बागमती प्रदेश सरकारको राहत : मृतकका परिवारलाई २ लाख, आवास विहीनलाई १ लाख



विपत् प्रभावितलाई बागमती प्रदेश सरकारको राहतले राहत दिने भएको छ । बागमती प्रदेशको सर्वदलीय बैठकले बाढी, पहिरो र डुवानबाट मृत्यु भएकाको परिवारलाई तत्काल दुई लाख दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री बहादुर सिं लामाको अध्यक्षतामा सोमबार साँझ ललितपुरको जाउलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठकले विपदबाट प्रभावित प्रदेशभित्र बसोबास गर्ने परिवारलाई राहत तथा क्षतिपूर्ति स्वरुप प्रतिमृतक दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

बाढीपहिरोले आवासविहीन भएका प्रभावित परिवारलाई अस्थायी संरचना निर्माणका लागि एक लाख रुपैयाँ दिने निर्णय गरिएको मुख्यमन्त्री बहादुर सिं लामाले बताए ।

बाढीपहिरोले बागमती प्रदेशका १३ जिल्लामा १ सय ३९ जनाले ज्यान गुमाएका छन् । ५५ जना अझै बेपत्ता छन् । २२६ परिवार प्रभावित हुँदा ३१ वटा घरमा पूर्ण क्षति भएको छ ।

सर्वदलीय बैठकले तत्काल उद्दार, राहत र पुर्निर्माणमा जुट्ने निर्णय गरेको छ । बैठकले घाइतेहरुको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने, भौतिक रुपमा क्षति भएका सडक, पुल, विद्युत, खानेपानी लगायतको व्यवस्थापन गर्न जिल्ला स्थित प्रदेश मातहतका कार्यालयहरु मार्फत वजेट व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

सर्वदलीय बैठकमा बागमतीका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेल, राप्रपा संसदीय दलका नेता उद्धव थापा, नेमकिपाका नेता सुरेन्द्रराज गोसाई, हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य, कांग्रेस सचेतक लम्साल, नेकपा एमालेका प्रमुख सचेतक मधुसुदन पौडेल, माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकाल, नेकपा एकीकृत समाजवादीका बसन्त मानन्धरलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८१, १४ आश्विन सोमबार ००:००  ८ : २३ बजे