२०८१, १९ आश्विन शनिबार | Sat Oct 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ईन्द्रावतीमा विपद्ले क्षतिग्रस्त सडक र विद्युत ४८ घण्टाभित्रै सुचारु

पूर्वतयारी र सतर्कताले मानविय क्षति नभएको निष्कर्ष, भौतिक क्षतिको विवरण संकलन गरिँदै



सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाले बाढी पहिरोले बगाएको ४८ घण्टा भित्रै सडक र विद्युत सुचारु गराएको छ । विपद् जोखिम न्यूनिकरणमा योजनावद्ध काम गर्दै आएको ईन्द्रावतीले ३ दिनसम्मको वर्षापछिको बाढीपहिरोबाट क्षति भएको ग्रामिण सडक र विद्युत तत्काल मर्मत गरेर सुचारु गराएको हो ।

असोज १०,११ र १२ गतेको वर्षाले ईन्द्रावतीका सबै वडा र पालिका जोड्ने सडक अवरुद्ध बनाएको थियो । ग्रामिण विद्युतीकरणमा समेत क्षति गरेको थियो । तत्काल पालिकाको स्रोत साधान प्रयोग गरेर सडक र विद्युत सुचारु गराईएको गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले अनलाइन सरोकारसँग बताए । चाडपर्व नजिकिएकाले सडक र विद्युतसँगै पहिरोले क्षति गरेका खानेपानीका आयोजना मर्मतमा जनशक्ति परिचालन गरिएको अध्यक्ष नेपालको भनाई छ ।

यसवर्षको बाढीपहिरोले ईन्द्रावतीमा मानविय क्षति नभएपनि करोडौंको भौतिक क्षति भएको छ । पालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले क्षतिको यकिन विवरण संकलन गर्ने र राहत तथा पुनस्र्थापनाको काम गर्ने निर्णय गरेको छ ।

हरेक प्राकृतिक प्रकोपको केन्द्र बन्ने सिन्धुपाल्चोक जिल्लाका १२ वटा स्थानीय तह वर्षेनी बाढिपहिरो, भुकम्पलगायतका विपत्तिबाट जनधनको क्षति व्यहोर्न बाध्य छन् । यसवर्षपनि रोशी, भोटेकोशी, लिसंखुपाखर, मेलम्चीसहित सबै स्थानीय तहमा बाढीपहिरोले वितण्डा मच्चायो ठाउँ ठाउँमा पहिरोमा पुरिएर, खोलाले बगाएर नागरिकले ज्यान समेत गुमाएका छन् ।

यद्यपि पूर्वतयारी र सतर्कताले ईन्द्रावतीमा यसवर्ष मानविय क्षति नभएको अध्यक्ष नेपालको भनाई छ । मौषम पूर्वानुमान अनुसार पालिकाले सुरक्षित रहन नागरिकलाई सुचित गरेको र स्थानीयहरु पनि सतर्क भएकाले मानविय क्षति व्यहोर्नु नपरेको अध्यक्ष नेपालको दावी छ ।

मानविय क्षति नभएपनि ईन्द्रावतीमा १ सय घरमा क्षति पुगेको छ भने ३ सय घर जोखिममा छन् । खानेपानी र सिंचाईका आयोजना क्षतिग्रस्त छन् । 

१२ वटै वडाबाट क्षतिको विवरण संकलन भईरहेको छ ।

प्रकाशित मिति : २०८१, १६ आश्विन बुधबार ००:००  १० : २९ बजे