२०८१, २० आश्विन आइतबार | Sun Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुम्जाटारमा हवाई उडान पुनः सुरु

सांसद खतिवडाले ८ जना बिरामीलाई खर्च व्यहाेरेर जिल्ला पुर्‍याए



ओखलढुंगाको रुम्जाटारमा हवाई उडान पुनः सुरु भएको छ । करिब ५ वर्षपछि आज दिउँसो रुम्जाटार विमानस्थलमा उडान भएको हो ।

विगतमा नियमित उडान हुँदा नेपाल एयरलाईन्सले काठमाडौं–रुम्जाटार सेवा दिँदै आएको थियो । आईतबार समिट एयरलाईन्सले परीक्षण उडान गरेको छ ।

काठमाडौंबाट चालक दलका चार जना र ओखलढुंगाका सांसद एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहित १८ यात्रु लिएर आएको समिट एयरले रुम्जाटारमा सफल अवतरण गरेको हो ।

काठमाडौंबाट ओखलढुंगा आएका १८ यात्रु मध्ये ८ जना अस्पतालले भर्खर डिस्चार्ज गरेका बिरामी थिए । उनिहरुको प्रतिव्यक्ति ४५०० भाडा समेत सांसद खतिवडाले नै तिरेर यात्रा गराएका थिए ।

रुम्जाटारबाट पनि १८ जना यात्रुसहित विमान फर्किएको छ । विगतमा यात्रु अभावले नियमित हुन नसकेको भनिएको उडानमा आज विमानको क्षमता अनुसार यात्रु चढेका छन् ।

वर्षात्का कारण आएको बाढीले विपी राजमार्ग बन्द हुँदा सिधा सवारीमा यात्रा गर्ने सम्भावना नभएकाले रुम्जाटारमा विमान आउँदा स्थानीयलाई यात्रा गर्न सहज भएको छ ।

विपी राजमार्ग बन्द हुँदा ओखलढुंगाका यात्रुहरु पनि सिन्धुलीबाट हेटौंडा घुमेर महंगो भाडा तिरेर काठमाडौं आवतजावत गरिरहेका छन् । दशैं मनाउन गाउँ फर्किएकाहरु पनि ४ हजार ५ सय सम्म भाडा तिरेर सोही सडक मार्गबाट यात्रा गरिरहेका छन् ।

अझ तत्काल उपचारका लागि अस्पताल जानुपर्ने बिरामीहरु १ लाख ५० हजार देखि २ लाख सम्म तिरेर हेलिकोप्टर रिजर्भ गरेर काठमाडौं जान बाध्य छन् ।

सिधा सवारी सञ्चालन नहुँदा विशेषगरी बिरामीलाई उपचारका लागि अस्पताल लैजान र अन्य यात्रुलाई आवत जावत गर्नपनि असहज भएकाले रुम्जाटारमा नियमित उडानको पहल गरिएको सांसद खतिवडाको भनाई छ । आफुले सँस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पटकपटक ताकेता गरेपछि बन्द रहेको रुम्जाटार विमानस्थलमा फेरि उडान सुरु भएको दावी गर्दै खतिवडाले आगामी दिनमा यसको निरन्तरताका लागि पहल गर्ने बताए । ‘रुम्जाटारमा नियमित विमान उडाउने हाम्रो योजना त थियो नै झन सिधा सवारी बन्द भएपछि ओखलढुंगाबासीका लागि अत्यावश्यक नै भयो र जवरजस्त अनुरोध गरेर पुनः उडान सुरु गर्न सफल भईयो ।’ खतिवडाले भने, ‘यो विपत्का बेलामा यत्तिको सेवा पाउनु मेरो र समग्र जिल्लाबासीका लागि खुसीको बिषय हो । नियमित उडानका लागि पहल भईरहेको छ । सम्भवतः सातामा २ दिन उडान हुन्छ भन्ने मलाई जानकारी आएको छ ।’ काठमाडौं–रुम्जाटार उडान आईतबार र बुधबार हुने खतिवडाले बताए । उनका अनुसार आईतबार समिट एयर र बुधबार नेपाल एयरलाईन्सले सेवा दिने छन् । काठमाडौं–रुम्जाटार भाडा ४ हजार ५ सय तोकिएको छ ।

५ वर्षपछि आएका विमानमा पहिलो दिन बिरामीले सेवा उपभोग गरेका छन् । दुवै तर्फका यात्रुहरु विमान ल्याएको जसलिन गएका केही राजनीतिक दलका नेता बाहेक बिरामी र अत्यावश्यक कामका लागि यात्रा गर्नेहरु थिए ।

जिल्लामा सडक सञ्जाल नपुग्दैदेखि सुरु भएको रुम्जाटार विमानस्थल कालोपत्रे भएपछि अझ नियमित उडान हुने स्थानीयको अपेक्षा थियो । तर विमानस्थलको स्तरोन्नती पछि नियमित उडान हुनसक्दा सेवाबाट वञ्चित भएका यात्रुलाई भरपर्दो सेवा दिनेगरी नियमित उडान गर्न जिल्लाबासीले माग गरेका छन् ।

बाढीपहिरोले सडक अवरुद्ध भएको र दशैंमा यात्रुको चाप हुने समयमा पुन ः सुरुभएको रुम्जाटार – काठमाडौंको उडानलाई नियमित र निरन्तर बनाउनुपर्ने सिद्धिचरण नगरपालिकाका निवर्तमान उपप्रमुख ईच्छाकुमारी गुरुङले बताइन् । ५ वर्षअघि पनि केही दिन उडान गरेर फेरि अनिश्चित भएको स्मरण गर्दै गुरुङले आगामी दिनमा हवाई उडानले निरन्तरता पाए जिल्लाका बिरामीहरुले हेलिकोप्टर चार्टर गरेर अस्पताल जान र सडक मार्गबाट सवारीमा जोखिम मोलेर यात्रा नगरी हवाई सेवा उपभोग गर्न पाउने बताए ।

रुम्जाटारमा विमान आउने केही दिन अघिदेखि नै सूचना जारी गरिएको भएपनि धेरैले पत्याएका थिएनन् । अब पनि नियमित उडान हुनेमा धेरैको शंका छ ।

विमान हेर्न रुम्जाटार पुगेका स्थानीय र सरोकारवालाले विगत जस्तो उडान अनिश्चित नबनाउन आग्रह गरेका छन् ।

ओखलढुंगामा रुम्जाटार र खिजीचण्डेश्वरी गरी २ विमानस्थल छन् ।

पर्यटनसँग जोडेर ओखलढुंगा घुम्ने र सोलुखुम्बु जाने पर्यटकलाई समेत लक्षित गरेर नियमित उडान भर्न सकिने सम्भावना भएका जिल्लाका दुबै विमानस्थलमा नियमित उडान हुनसकेको छैन । तत्कालिन पर्यटन मन्त्री योगेश भट्टराईसहित पुगेर परीक्षण उडान गरको खिजीचण्डेश्वरी विमानस्थलमा परीक्षण उडानपछि कुनै उडान र स्तरोन्नतीको काम भएको छैन । रुम्जाटार विमानस्थल सुविधा सम्पन्न र कालोपत्रेसहितको रनवे (मैदान) भएपनि उडान छैन ।

प्रकाशित मिति : २०८१, २० आश्विन आइतबार ००:००  ६ : ३२ बजे