२०८१, ११ चैत्र मंगलबार | Tue Mar 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज दशैं : टीका कतिबेला कता फर्किएर लगाउने ?



मान्यजनबाट टीका र जमरा लगाएर आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटलाई तोकिदिएको छ ।

११ बजेर ३६ मिनेटभन्दा अगाडि वा पछाडि टीका लगाउनै हुँदैन त ?

‘टीका-जमरा देवीको प्रसाद हो, प्रसाद भन्ने कुरा जुन समयमा लगाए पनि हुन्छ,’ नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले भने, ‘आज बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि जुनसुकै समयमा मान्यजनबाट टीका–जमरा लगाएर आशिर्वाद लिन सकिन्छ ।’

‘साइतमा मिल्छ भने ११ बजेर ३६ मिनेटको साइतमै लगाउने, मिल्दैन भने आफ्नो अनुकूल जुन बेला मिल्छ, त्यहीबेला लगाउने,’ प्रा.डा. गौतमले भने ।

सामान्य मानिसले जुनसुकै समयमा टीका लगाए पनि राज्य सन्चालकले भने उत्तम साइतमै टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारी बताउँछन् । ‘राज्य सञ्चालकले सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकोले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ’, प्राध्यापक अधिकारीले भने ।

टीका र जमरा देवीको प्रसाद भएकाले प्रसाद ग्रहण गर्न आज दिनभरी नै टीका लगाउन शुभ हुने अधिकारीले बताए । आज दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको साइत ११ बजेर ३६ मिनेटको दिइएको उनले बताए ।

समितिले दिएको साइतको समय प्रभावशाली भएकाले सक्नेले यही समयमा टीका लगाए राम्रो हुने उनले बताए । तर टीका लगाउनु अघि देवी विसर्जन भने गर्नैपर्ने उनले बताए ।

कतैकतै पूर्णिमासम्म दशैंको टीका लगाउने चलन छ । पूर्णिमासम्म टीका लगाउँदा पनि केही फरक नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. गौतमले बताए । ‘देवीको प्रसाद हो, पूर्णिमासम्म लगाउँदा पनि राम्रै हुन्छ,’ उनले भने ।

मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धीको प्रतीक पहेँलो जमरा प्रयोग गरिन्छ ।

घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने परम्परा छ । केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन् ।

असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादशैं पर्व मनाउने परम्परा छ ।

कुन देशमा कहिले, कति बजे छ टीकाको साइत ?

आज बडादशैंको अन्तिम दिन, मान्यजनबाट दुर्गादेवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ ।

नेपालका लागि टीकाको उत्तम साइत बिहान ११:३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले भने नेपालसहित ३२ देशका लागि पनि बडादशैंको टीकाको साइत सार्वजनिक गरेको छ ।

विभिन्न देशमा हुने बसोबास गर्ने नेपालीहरुको सुविधाका लागि समितिले टीकाको साइत तोकिदिएको हो । टीकाको साइत तय गर्दा स्थान विशेषको सूर्योदयको समय र दशमी तिथीको आधारमा गरिन्छ ।

त्यसैले टीकाको साइत विभिन्न देशमा फरक दिन र फरक समयमा पर्ने गरेको छ । उदाहरणका लागि अष्ट्रेलियामा दशैंको टीका नेपालभन्दा एक दिन ढिलो अर्थात् १३ अक्टुबर (असोज २७ गते) परेको छ ।

दशैंको टीका कता फर्किएर लगाउने ? टीका लगाउनुअघि केके गर्ने ?

बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन सकिन्छ । तर उत्तम साइत खोज्नेहरुका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ११ बजेर ३६ मिनेट तोकिदिएको छ ।

परम्परा अनुसार पूर्वपश्चिम टीकाको साइत हो । पूर्वपट्टि फर्केर टीका थाप्ने र पश्चिम फर्केर लगाइदिने गरिन्छ । सामान्यतयाः पूर्वपश्चिम नै हाम्रो पुरानो परम्परा हो ।

दक्षिणतिर पितृकर्म मात्रै गरिने भएकाले दक्षिण फर्किने चलन छैन । कतिपयले चन्द्रमा हेरेर साइतका आधारमा पनि टीका लगाइदिने र थाप्ने दिशा तय गर्छन् । तर त्यति विस्तृत रुपमा जाने चलन छैन ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य डा‍. बासुदेव कोइरालाले टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किने र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने बताए ।

टीका लगाउनुअघि केके गर्ने ?

दुर्गा विसर्जन गरेपछि टीकाको क्रम शुरु हुन्छ । सुरुमा कुलदेवता, पितृदेवतालाई टीका चढाउने गरिन्छ । कतिपय ठाउँमा घरको मूल ढोकामाथि टीका लगाइदिने भन्ने परम्परा छ । त्यसपछि मान्यजनबाट टीका लगाइन्छ ।

दुर्गा विसर्जनपछि कलशको जल अत्यन्त पवित्र हुन्छ भन्ने धार्मिक मान्यता छ । कलशमा राखेको जल लिएर तयारीका साथ इष्टदेवता, कुलदेवतालाई सम्झेर जमरा काटिन्छ । दैलामाथि टीका लगाउने गरिन्छ । हाम्रो घरपरिवारमा गुरुपुरोहित स्थापना गरेको भए गुरुपुरोहितबाट, नभए मान्यजनको हातबाट टीकाजमरा लगाउने चलन छ । त्यसपछि मात्र अन्य मान्यजनबाट टीका लगाउने चलन छ ।

साइत नै खोजेर उपयुक्त समयमा टीका लगाऊँ भन्नेका लागि ११ बजेर ३६ मिनेटमा उत्तम साइत छ । कसैलाई हतारो भएमा, टाढा जानुपर्ने बाध्यात्मक अवस्थामा बिहान झुल्के घाममा टीका लगाउने चलन छ । पहिलेदेखि नै दशैंको दिन जतिबेला पनि टीका लगाए हुन्छ भन्ने चलन छ ।

बिहान घाम झुल्केपछि विधिविधानपूर्वक मान्यजनबाट टीका ग्रहण गरेर टाढा रहेका मान्यजनको टीका थाप्न जान कुनै बाधा पर्दैन ।

अहिले त कतिपयहरुलाई दशैंको दिन ढिलोगरी नेपाल आउन पाउने बाध्यता पनि बन्न सक्छ । त्यस्तो अवस्थामा समेत साइत गुज्रिएकाले दुविधा पाल्नु पर्दैन । जतिबेला भएपनि मान्यजनबाट टीकाप्रसाद ग्रहण गर्नु उपयुक्त हुन्छ ।

प्रकाशित मिति : २०८१, २६ आश्विन शनिबार ००:००  ८ : ०१ बजे