२०८१, २ कार्तिक शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिसो बढ्यो, काठमाडौँको न्यूनतम तापक्रम १५ भन्दा तल झर्‍यो, वर्षाको सम्भावना



देशभरबाट मनसुन बाहिरिएसँगै तापक्रम घट्ने क्रम बढेको छ।

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.७ डिग्री सेल्सियसमा झरेको छ, हिजो शनिबार १६.५ डिग्री सेल्सियस थियो।

शनिबार २८.३ डिग्री सेल्सियस रहेको उपत्यकाको अधिकतम तापक्रम आइतबार २८ डिग्री सेल्सियसमा झरेको छ।

समग्रमा अहिले देशभर नै तापक्रम क्रमशः ओरालो लागिरहेको छ।

नेपालबाट मनसुन हिजो असोज २६ गते (अक्टोबर १२ तारिख) पूर्ण रूपमा बाहिरिएको हो।

मनसुन बिदा भएसँगै पोस्ट मनसुन सिजन सुरु भएको मौसमविद्ले बताएका छन्। मनसुन बिदा भइसकेको र विन्टर आउनुअघिसम्मको अवधिलाई पोस्ट मनसुन भनिन्छ।

यो सिजन नोभेम्बरसम्म रहने र डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्ने मौसमविद् बताउँछन्। यसैले अब मौसम बिस्तारै चिसोतर्फ ढल्किएको हो।

वर्षाको सम्भावना

पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ । तीनवटै प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज २९ गते मङ्गलबार पनि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहनुका साथै कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही किसिमको मौसमी प्रणाली कायम रहने महाशाखाले पूर्वानुमान गरेको छ ।

प्रकाशित मिति : २०८१, २८ आश्विन सोमबार ००:००  ७ : ०० बजे