२०८१, २ कार्तिक शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली सरकार असफल भएको विपक्षी दलहरूको निष्कर्ष

विशेष अधिवेशन बाेलाउन विपक्षी दलहरुकाे माग, त्याे सम्भावना नरहेकाे सत्तारुढ दलकाे प्रतिक्रिया



विपक्षी दलहरूले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको निष्कर्ष निकालेका छन् । आज प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको विपक्षी दलको बैठकले जनसरोकारको विषयमा सरकार चुकेको निष्कर्ष निकालेको हो ।

बाढी पहिरो लगायत विपत्तिमा सरकारले खोज, उद्धार, राहत सरकार चुकेको बैठकले निष्कर्ष निकालेको माओवादीका उपमहासचिव शक्ति बस्नेतले बताए ।

आज बसेको बैठकले जनसरोकारका विषयमा विषयमा विपक्षी दलहरूको तर्फबाट सरकारको ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ । ५ गते राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई ध्यानाकर्षणपत्र बुझाउने निर्णयसहित तीन सदस्यीय कार्यदल समेत बनाएको छ ।

आफूहरूले बोलाएको माग सुनुवाइ नभएमा संसद्को विशेष अधिवेशन बोलाउनेबारे विपक्षी दलहरू सहमत भएका छन् । तर, सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसदको विशेष अधिवेशन बोलाउने सम्भव नभएको बताए ।

उनले भने, ‘हाउस अन्त्य भएको धेरै भएको छैन। अहिले चाडपर्वको बेला छ। विशेष अधिवेशन भनेर बोलाउनुपर्ने कुनै कारण छैन। राजनीतिमा यो भन्दा बढी बच्पना के हुनसक्छ। विशेष अधिवेशन केका लागि हो ? यो संसदीय ज्ञान अभावको कारणले प्रकट भएको अभिव्यक्ति हो।’

उनले रास्वपालाई लक्षित गर्दै अपरिपक्वताको कारणले अहिले विशेष अधिवेशनको कुरा उठाएको आरोप लगाए।

उनले थपे, ‘कसरी हुन्छ बजारमा देखिने शैली हरेक ठाउँमा उपयुक्त हुँदैन। यस्ता प्रवृत्ति आजको राजनीतिमा देखिन खोजेको छ। यो बेठिक कुरा हो। बिना कारण बिना सन्दर्भ अहिले किन चाहिएको छ ? संसद् आफ्नो प्रक्रियाअनुसार बन्द गरेर अघि बढेका छौँ। अब सरकारले आवश्यक भए पनि बोलाउँछ। यो अहिले उहाँहरूले माग गर्नासाथ सम्भव हुन्छ भन्ने देखिँदैन। यो अपरिपक्वताको कारण हो। संसदीय मूल्य मान्यता पनि उहाँहरूले बुझ्नुभएको छैन।’

मङ्गलवार रास्वपाले दुई तिहाइको सरकार कामचलाउ जस्तो भएको भन्दै प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन माग गरेको थियो। रास्वपाको त्यो प्रस्तावलाई आज बसेको विपक्षी दलको बैठकले समर्थन जनाएको छ।

प्रकाशित मिति : २०८१, २ कार्तिक शुक्रबार ००:००  २ : ११ बजे