२०८१, १८ मंसिर मंगलबार | Tue Dec 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुम्जाटारको जहाजले यात्रु पाएन, हुम्लाका यात्रुले टिकट पाएनन्


२०८१, २७ कार्तिक मंगलबार ००:००  

0
Shares

ओखलढुंगाको रुम्जाटारमा यात्रु अभावले फेरि उडान अनिश्चित बन्ने भएको छ । विगतमा यात्रु नपाएर नियमित उडान हुन नसकेको रुम्जाटार विमानस्थलमा पछिल्लो समय नियमित उडान गर्ने प्रयत्न गरिएपनि यात्रुको अभाव खड्किन थालिसकेको छ । सातामा २ दिन उडान भर्ने भनिएकोमा १ दिन उडान भईरहेको छ तर यात्रु नहुँदा ८–९ जना यात्रु बोकेर जहाज उडिरहेको छ । यात्रु नपाए फेरि उडान अनिश्चित हुनेछ ।

भनेको दिन जहाज नआउने र विमानस्थलमा पुगेर फर्कनुपर्ने डरले ओखलढुंगाबासी हवाई भन्दा सार्वजनिक सवारीमै बढी भरपर्ने गरेका छन् ।

सडकमार्गबाट ओखलढुंगा–काठमाडौं ५–७ घण्टामा यात्रा गर्न सकिने भएकाले पनि यात्रुहरु सडक मार्गबाटै आवतजावत गरिरहेका छन् ।

रुम्जाटार जाने जहाजले यात्रु नपाइरहँदा सडकको सहज पहुँच नपुगेको र दुरिका हिसाबले टाढा रहेका ठाउँमा भने यात्रुले टिकट नपाउने समस्या छ ।

हुक्लाका नागरिकलाई बर्सेनि जिल्ला बाहिर जानुपरे जहाजको टिकट पाउन समस्या हुने गरेको छ । हालसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, फोखरा, बुटवललगायत सहर पुग्न समस्या हुने गरेको हो ।

रोजगारी तथा शिक्षाका लागि जिल्ला बाहिर रहेका नागरिक दसैँ, तिहार मनाएर आफ्नो गन्तव्यमा जान सिमकोट विमानस्थल धाउने गरे पनि हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले उडान कम गर्दा यात्रु मारमा परेका छन् ।

सीता, समिट र तारा एयरलाइन्सले दैनिक उडान नगर्दा यहाँका नागरिकलाई गन्तव्यसम्म पुग्न समस्या हुँदै आएको छ । तारा एयरले सोमबार, सीता र समिट एयरले साताको बुधबार एकदिन मात्रै उडान गर्दा अत्यावश्यक काम परेर जिल्ला बाहिर जान पनि नसकिएको स्थानीय बताउँछन् ।

नेपाल एयरलाइन्सले हप्तामा सोमबार र मङ्गलबार उडान गर्ने गरेका छ । बिहानैदेखि विमानस्थलमा लाइन लागे पनि टिकट पाउन मुस्किल भएको सर्वसाधरणको गुनासो छ ।

विमानस्थलमा भेटिनुभएका सिमकोट गाउँपालिका–८ का जय कामीले छोरीको दुवै मृगौला फेल भएर उपचारका लागि बाहिर जिल्ला जान टिकटको खोजी गरिरहेको भन्दै बिरामीको मात्रै टिकट पाइएको गुनासो पोखे । जिल्ला अस्पतालले ‘रिफर’ गरेको कागज पेस गरेपछि मुस्किलले एउटा मात्र टिकट पाइएको उनले बताए ।

नेपाल एयरलाइन्सले सातामा दुई दिन हुने उडानमा चार जना जटिल समस्या भएका बिरामीलाई पहिलो प्राथमिकता दिएर टिकट उपलब्ध गराएको जिल्ला प्रशासन हुम्लाले जनाएको छ ।

सुर्खेत र नेपालगञ्जबाट नियमित उडान गर्ने सहमति गरेका सीता, तारा र समिट एयरलाइन्सले उडान नगर्दा यात्रुलाई सास्ती हुने गरेको छ ।

प्रकाशित मिति : २०८१, २७ कार्तिक मंगलबार ००:००  ११ : २८ बजे