२०८१, ६ मंसिर बिहीबार | Thu Nov 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शंखधर साख्वाको योगदानको चर्चाः ‘नेपाल संवत् राष्ट्रिय र मौलिक पर्व बनाउनुपर्नेमा जाेड’

साख्वाःलाई चीरकालसम्म सम्झना गर्न दिर्घकालिन याेजना बनाउँदै बागमतीका मुख्यमन्त्री



नेपाल संवत् लाई राष्ट्रिय र मौलिक पर्व बनाउनुपर्नेमा जोड दिईएको छ । समाज सुधारक शङ्खधर साख्वाः लाई राष्ट्रिय विभूति घोषणा गरिएको २५ वर्ष पुगेको अवसरमा राष्ट्रपति भवनमा आयोजित कार्यक्रमका वक्ताहरुले देशको नामबाट स्थापित विश्वको एउटै मात्र संवत् भएकाले नेपाल संवत्लाई राष्ट्रिय र मौलिक पर्वका रुपमा स्थापित गर्नुपर्ने बताएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिककालदेखि नै नेपाली जनताको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनसँग समीप रहेको नेपाल संवत् हाम्रो देशको राष्ट्रिय र मौलिक संवत् भएको बताए । नेपाल संवत् सम्पूर्ण नेपाली जनताको गौरवमय राष्ट्रिय सम्पदा पनि भएको राष्ट्रपति पौडेलको भनाई थियो । ‘बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुक नेपालको सांस्कृतिक विविधतालाई एकताको सूत्रमा अक्षुण्ण राख्न नेपाल संवत्को भूमिका महत्वपूर्ण रहेको छ भन्ने मलाई लाग्दछ ।’ राष्ट्रपति पौडेलले भने । राष्ट्रपति पौडेलले शङ्खधर साख्वाःले आफूले आर्जन गरेको निजी सम्पत्तिलाई समाजका गरिब एवं उत्पीडित समुदायको हितमा प्रयोग गर्नु विश्वका लागि पनि एक उदाहरणीय कार्य भएको बताउँदै उक्त लोककल्याणकारी कार्य तत्कालीन नेपाली समाजका लागि आफैमा एक क्रान्तिकारी कदम भएको बताए ।

राष्ट्रिय विभुती शंखधर साख्वा प्रतिष्ठानले आयोजना गरेको शंखधर दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाल संवत्लाई राष्ट्रिय कामकाजको संवत् बनाई स्थापित गर्नुपर्ने बताए । भाषा, संस्कृति, प्राचिन कला, जगेर्ना, संरक्षण र प्रवर्द्धनमा बागमती प्रदेश सरकार जिम्मेवार ढंगले प्रस्तुत भएको मुख्यमन्त्री लामाले बताए । लामाले शंखधर साख्वा काठमाडौं र बागमती प्रदेशको मात्रै गहना नभई सिङ्गो देश नेपालको विभुती भएकाले अन्तराष्ट्रिय स्तरमा चिनाउन शंखधर साख्वा मुर्ती पार्क निर्माणको लागि ७५ लाख बजेट विनियोजन गरेको जानकारी दिए । उनले शंखधर साख्वा संग्रालय र पूर्वाधार विकासका लागि २० लाख बजेटको व्यवस्था गरिएको बताए । साख्वाःको योगदानलाई चीरकालसम्म सम्झना गर्न दिर्घकालिन याेजना बनाइएकाे मुख्यमन्त्री लामाले बताए ।

बागमती प्रदेशका पर्यटन संस्कृति मन्त्री विमल ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटा, मुख्यमन्त्री बहादुरसिंह लामा, प्रदेश सरकारका मन्त्रीहरूको उपस्थिति थियो । त्यस अवसरमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र मध्यपुर ठिमी नगरपालिकालाई सम्मान गरिएको थियो ।

कछलाथ्व दशमीका दिनलाई ‘शंखधर दिवस’ का रुपमा मनाउने गरिएको छ । आफ्नै देशको नामबाट नेपाल संवत् स्थापना गर्ने शंखधर साख्वाःको योगदानको कदर गर्दै नेपाल सरकारले  वि. सं. २०५६ मंसिर २ गते प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको कार्यकालमा उनलाई राष्ट्रिय विभूति घोषित गरेको थियो । त्यसयता राष्ट्रिय विभूति घोषणा गरिएको दिन कछलाथ्व दशमीलाई ‘शंखधर दिवस’ का रूपमा मनाउने गरिएको हो ।

प्रकाशित मिति : २०८१, ४ मंसिर मंगलबार ००:००  ९ : ४० बजे