२०८१, १९ मंसिर बुधबार | Wed Dec 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुङ्गाको मोलुङ ५ को वडाअध्यक्षमा एमाले विजयी

जिसस प्रमुखमा कांग्रेस निर्विरोध



ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को वडाअध्यक्षमा एमाले विजयी भएको छ । आज भएको उपनिर्वाचनबाट एमालेका उम्मेदवार गंगाबहादुर तामाङ ३ सय ९९ मत ल्याएर विजयी भएका हुन् ।

७६८ मत खसेकोमा एमालेका तामाङले कांग्रेसका घनश्याम दाहाललाई २ सय २२ को फराकिलो मतान्तरले पराजित गरेका छन् । तामाङले ३९९ मत ल्याउँदा दाहालले १ सय ७७ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिष्णुप्रसाद पोखरेलले १ सय ५१, नेकपा माओवादी केन्द्रका मानबहादुर सुनुवारले २३, राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रमणी दाहालले ३ र जनता समाजवादी पार्टीका इन्द्रबहादुर दर्जीले ३ मत ल्याएका छन् । १२ मत बदर भएको थियो ।

२०७४ र २०७९ को निर्वाचनमा यो वडा नेपाली कांग्रेसले जितेको थियो ।

यो वडा एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवारको वडा पनि हो । यसअघिका निर्वाचनमा पराजय व्यहोरेको एमालेले यसपटक उपनिर्वाचनबाट जित निकालेको छ ।

जिसस प्रमुखमा कांग्रेस निर्विरोध

ओखलढुङ्गा जिल्ला समन्वय समिति प्रमुखमा भने नेपाली कांग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । अन्य पार्टीले उम्मेदवारी नदिएपछि कांग्रेस उम्मेदवार भट्टराई निर्विरोध भएका हुन् ।

२०७९ को स्थानीय निर्वाचनबाट चुनिएका जिसस प्रमुख डिल्लीराम खनाल र मोलुङ–५ का वडा अध्यक्ष गोपिकृष्ण कार्कीको निधन भएकाले ओखलढुङ्गाका २ स्थानमा आज उपनिर्वाचन भएको थियो ।

प्रकाशित मिति : २०८१, १६ मंसिर आइतबार ००:००  ९ : ४६ बजे