२०८१, १९ मंसिर बुधबार | Wed Dec 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोलालघाटमा मोटरबोट परीक्षण, चतरासम्म चलाउने योजना

भुम्लु गाउँपालिका अध्यक्ष भन्छन्– ‘पर्यटन विकासमा ठूलै फड्को मारिन्छ’ 



दोलालघाट क्षेत्रमा पर्ने सुनकोशी र इन्द्रावती दुई नदीको संगममा स्टिमर मोटरबोट सञ्चालन हुन थालेको छ । भुम्लु गाउँपालिकाको पहलमा पर्यटकीयस्थल दोलालघाट क्षेत्रमा मोटरबोट सञ्चालन गर्न थालिएको छ । अहिले यसक्षेत्रमा मोटरबोटको सफल परीक्षण भइरहेको छ ।

गाउँपालिका क्षेत्र भएर बग्ने सुनकोशी र इन्द्रावतीमा मोटरबोट सञ्चालननार्थ गाउँपालिकाले एक वर्षअघि महाँकाल वाटर सर्भिसबीच सम्झौता गरेको थियो । मोटरबोट सञ्चालनका लागि हाल परीक्षण भइरहेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले बताए । अध्यक्ष भुजेलका अनुसार मोटरबोटले नदीमा पानीको बहावअनुसारको रुट तथा बाधाअड्चन आउनसक्ने स्थान र सम्भावित जोखिमको पहिचान गर्नेकाम भईरहेको छ । गाउँपालिका भित्रका सबै पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसार गर्ने र दोलालघाट क्षेत्रबाट मोटरबोट सञ्चालन समेत गरेर भुम्लु गाउँपालिकालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने गाउँपालिका अध्यक्ष भुजेलको भनाई छ ।

परीक्षणका क्रममा दोलालघाटस्थित दुई नदीको सङ्गमस्थलबाट उत्तरतर्फ इन्द्रावती तथा पूर्वी क्षेत्रमा सुनकोशीमा मोटरबोटले सफल रूपमा सञ्चालन गरिएको छ । पहिलोपटक गत हप्ता गरिएका परीक्षणबाट अवरोध नदेखिएपछि सम्झौता अनुसार यस क्षेत्रमा मोटरबोट सञ्चालनको अन्तीम तयारी थालिएको छ ।

दोलालघाटबाट सुनसरीको चतरासम्म मोटरबोट सञ्चालन गर्ने योजना छ ।

सफल परीक्षणपछि पहिलो चरणमा दोलालघाटबाट खहरेघाटसम्म एक किलोमिटरमा मोटरबोट सञ्चालन गरिनेछ । पहिलो चरणमा मनोरञ्जनात्मक रूपमा एक किलोमिटरको दूरीमा आवश्यकतानुसार थप मोटरबोट व्यवस्थापन गरी सञ्चालन गरिने छ । मोटरबोट सञ्चालनले आन्तरिक एवं बाह्य पर्यटकमार्फत भुम्लुको पर्यटन प्रवद्र्धन तथा अन्य विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

दोलालघाटबाट चतरासम्म सञ्चालन हुने भएपछि भुम्लु गाउँपालिका आफैंले मोटरबोट खरिद गर्नेसम्मको योजना बनाएको छ । पर्यटन प्रवद्र्धनको उद्देश्यसाथ दोलालघाटबाट सिन्धुलीको नेपालथोकसम्म सुनकोशीमा करिब पाँच किलोमिटरको दूरीमा र्याफ्टिङ सञ्चालन गर्दै आइएको छ ।

प्रकाशित मिति : २०८१, १८ मंसिर मंगलबार ००:००  ९ : २२ बजे