२०८१, १९ मंसिर बुधबार | Wed Dec 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार महासंघको निर्वाचन कार्यतालिका र मतदाता नामावली सार्वजनिक



तोकिएको समयमा निर्वाचन हुन नसकेको नेपाल पत्रकार महासंघको फेरी निर्वाचन कार्यतालिका र मतदाता नामावली सार्वजनिक भएको छ ।

महासंघको केन्द्रीय निर्वाचन समितिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको निर्वाचन समितिका संयोजक प्रा. चिरञ्जीवी खनालले जानकारी दिए ।

संयोजक खनालका अनुसार नयाँ निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ताको समय मंसिर २१ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ ।

उम्मेदवारको नामावली प्रकाशन त्यसै दिन साँझ ५ बजे हुनेछ । यस्तै उम्मेदवारमाथि दाबी विरोध गर्न पाउने त्यसै दिन साँझ ५ बजेदेखि मंसिर २१ गते साँझ ७ बजेसम्म तोकिएको छ ।

कार्यतालिका अनुसार उम्मेदवारले मनोनयन फिर्ता लिने मंसिर २१ गते बिहान १० बजे र उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंसिर २२ गते बिहान ११ बजे रहेको छ ।

कार्यतालिका अनुसार मंसिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ भने त्यसै दिन मतदानको लागि तोकिएको समय सकिएपछि मतगणना सुरु हुनेछ ।

कार्यतालिका अनुसार प्रदेश समितिको मनोनयन दर्ता मंसिर २४ गते र जिल्ला शाखा र प्रतिष्ठान शाखाको मंसिर २६ गते मनोनयन दर्ता गर्ने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन समितिलाई केन्द्रीय निर्वाचन समितिले आग्रह गरेको छ ।

सार्वजनिक कार्यतालिका अनुसार निर्वाचनमा भाग लिने मतदाताको नामावली मंगलबार बिहान नै सार्वजनिक भइसकेको छ ।

महासंघका अध्यक्ष विपुल पोखरेलले महासंघको तोकिएको मितिमा निर्वाचन गराउन असफल भएपछि महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राजीनामा दिएका थिए ।

विष्टले पुन निर्वाचन कार्यतालिका सार्वजनिक गरेर निर्वाचन गराउन नसकेपछि उनले पनि राजीनामा दिएका थिए भने अहिले महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा उपाध्यक्ष बाला अधिकारी रहेकी छन् ।

महासंघको प्रदेश तथा जिल्ला अध्यक्षको गत असोज १० मा भक्तपुरमा सम्पन्न राष्ट्रिय भेलाले मंसिर २८ गते निर्वाचन गर्ने मिति तय गरेको थियो ।

अहिलेसम्म करिव ५ पटक निर्वाचनेको मिति तोकिए पनि महासंघको निर्वाचन हुन सकिरहेको छैन ।

महासंघको निर्वाचन नै गराउन नसकेकाले यस पटकको महासंघको कार्यसमितिलाई इतिहासकै सबैभन्दा कमजोर कार्यसमिति रहेको पत्रकारले टिप्पणी गर्दै आएका छन् ।

प्रकाशित मिति : २०८१, १८ मंसिर मंगलबार ००:००  २ : १८ बजे