फिदिममा यही पुस ६ गतेदेखि सञ्चालन हुने फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता आयोजक फिदिम स्पोर्टिङ क्लबका अनुसार विजेता टोलीले रु १० लाख ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता टोलीले रु पाँच लाख पाँच ५५५ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा ‘ए’ डिभिजनका चारसहित १० फुटबल टोलीले सहभागिता जनाउने तय भएको आयोजक क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिए ।
प्रतियोगितामा ‘ए’ डिभिजनका मच्छिन्द्र फुटबल क्लब, न्यू रोड टिम (एनआरटी) फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब सहभागी हुने भएका छन् । यस्तै आयोजकसहित विराटनगर सिटी फुटबल क्लब मोरङ, झापा–११ फुटबल क्लब झापा, न्यू स्टार क्लब सुनसरी, सहलेश युवा क्लब सिरहा र करसाङ्ग फुटबल क्लब भारत सहभागी हुने भएका छन् ।
आयोजकले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेका छन । त्यसअनुसार उद्घाटन खेलमा पुस ६ गते आयोजक फिदिम स्पोर्टिङ क्लब र करसाङ्ग फुटबल क्लब भारतका बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल पुस १५ गते हुनेछ ।प्रतियोगितामा विजेता र उपविजेता टोलीका अतिरिक्त सर्वोत्कृष्ट खेलाडी तथा विधागत रुपमा उत्कृष्ट खेलाडीसमेत पुरस्कृत हुने छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले एक थान इभी स्कुटर प्राप्त गर्ने छन्भने सर्वाधिक गोलकर्ताले रु १५ हजार, प्रत्येक खेलका उत्कृष्ट खेलाडी (म्यान अफ दी भ्याच)ले रु १० हजारका दरले पुरस्कार प्राप्त गर्ने छन् ।
यस्तै विधागततर्फ उत्कृष्ट ठहरिएका गोलरक्षक, रक्षक, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उदयमान खेलाडीले रु १० हजारका दरले पुरस्कार प्राप्त गर्ने अध्यक्ष थापा मगरले जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि आयोजकले फिदिम माध्यमिक विद्यालयको खेलमैदानलाई मर्मत गर्नुका साथै बाँसको प्रयोग गरी दर्शकका लागि अस्थायी प्यारापिट निर्माण गरेका छन् । प्यारापिटमा पाँच हजार दर्शक बस्न सक्ने आयोजकको भनाइ छ । खेलमैदानको व्यवस्थापनसहित प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् ।