एसियाली विकास बैंक ( एडिबी )ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न रु एक खर्ब पाँच अर्ब ६१ करोड सहयोग गर्ने भएको छ । सहायता रकममध्ये रु छ अर्ब ५२ करोड अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो । दोस्रो चरणको काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग ( सासेक ) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण परियोजना तथा समावेशी विकास कार्यक्रम कार्यान्वयन गर्न उक्त ऋण एवं अनुदान उपयोग गरिनेछ ।
अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा ऋण एवं अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थसचिव डा रामप्रसाद घिमिरे र एडिबीका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गर्नुभयो । त्यसअवसरमा सचिव घिमिरेले नेपालको समाजिक आर्थिक विकासमा एडिबीबाट प्राप्त सहयोगका निम्ति कृतज्ञता व्यक्त गर्नुभयो । निर्देशक कोश्वाले नेपालको कृषि, प्राकृतिक स्रोत, ग्रामीण विकास, ऊर्जा, सार्वजनिक क्षेत्र व्यवस्थापन, खानेपानी, एवं सहरी पूर्वाधार निर्माणमा एडिबीले सघाउँदै आएको बताउनुभयो ।