काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर २, गोल्चे लिदीमा पहिरोमा पुरिएर वेपत्ता भएकामध्ये ११ जना मृत भेटिएका छन् । पहिरोमा पुरिएको अवस्थामा ५ बालक, २ महिला र ४ जना पुरुषको शव निकालिएको जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङ्ले जानकारी दिइन् ।
शुक्रबार बिहान खसेको पहिरोले लिदीका १३ घर पुरिदाँ ३८ जना वेपत्ता भएको सूची सार्वजनिक भएको थियो । वेपत्तामध्ये २७ जनाको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
उपाध्यक्ष तामाङ्का अनुसार, स्थानीयको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले वेपत्ताहरुको खोजी जारी राखेका छन् । दुई दर्जन घरमा क्षति पुगेको छ । घटना लगत्तै नेपाली सेनाले पहिरोमा ज्यान बचाउन सफल भएका ५ जनाको उद्धार गरी जिल्ला अस्पताल चौतारा र काठमाडौंको मीनभवनमा रहेको सिभिल अस्पताल पु¥याएको थियो ।
जुगल गाउँपालिकाले गत साउन २२ गते नै लिदीमा रहेका १ सय ७२ घरधुरी पहिरोको उच्च जोखिममा रहेको भन्दै स्थानान्तरणका लागि जिल्ला विपद व्यवस्थापन समितिलाई पत्राचार गरेको थियो । समयमा नै आवश्यक पहल हुन नसक्दा सो गाउँमा ठूलो मानवीय क्षति हुन पुगेको स्थानीयले बताएका छन् ।