ओखलढुङ्गा लिखु गाउँपालिकामा भएको राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उपाधि ग्रायुसि मावि गाम्नाङटारले जितेकाे छ । आइतबार सम्पन्न भएको छैटौँ राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा ग्रामोदय युगकवि सिद्धिचरण माविले होम ग्राउन्डको फाइदा लिँदै लामो समयपछि उपाधि जितेको हो ।
उक्त उपाधि छैटाैँ पटक आएर जितेकोमा अत्यन्तै खुसी भएको व्यक्त गर्दै जीतलाई निरन्तरता दिने ग्रायुसिमाविका प्रधानाध्यापक पदम रोकाले अनलाइन सरोकारलाई बताउनु भयो ।
गत वर्षका रनिङशिल्ड खेलकुद प्रतियोगितामा पनि कडा प्रतिस्पर्धाको रूपमा थियौँ तर उपाधि भने जित्न सकेका थिएनौ , विद्यार्थीको मेहनत ,विद्यालयको व्यवस्थापन र शिक्षकको लगावले जित्न सफल भयौँ , भावी दिनमा एथलेटिक्स अन्तर्गत सम्पूर्ण खेललाई पढाई सँगै प्राथमिकतामा राख्ने प्रधानाध्यापक रोकाले बताउनु भयो ।
उहाँले भन्नु भयो , आफ्नै विद्यालयको प्राङ्गणमा राष्ट्रपति रनिङशिल्ड गराउँदा चुनौती भइहाल्छ तर चुनौतीलाई अवसरको रूपमा लियौँ आफ्नै खेलमैदानमा खेल आयोजना भएकाले हाम्रा विद्यार्थीलाई दर्शकको पनि राम्रो साथ भयो ।
विद्यालयले खेलकुदको क्षेत्रमा गर्नु पर्ने काम , सुधार्नु पर्ने पक्ष धेरै छन् । स्थानीय सरकार सम्बन्धित संस्था सँग खेलकुद सामग्री माग गरेर थप व्यवस्थित बनाएर खेलकुदलाई अगाडी बढाउने प्रधानाध्यापक रोकाले बताउनु भयो ।
आइतबार सम्पन्न खेलमा ग्रामोदय युगकवि सिद्धिचरण माविले ९ स्वर्ण, ८ रजत र ३ कांस्य सहित कूल २० पदकका साथ प्रथम भएको हो । त्यस्तै यसम मावि यसमले ७ स्वर्ण, ७ रजत र ४ कांस्य सहित कूल १८ पदकका साथ दोश्रो बनेको छ । उता जाल्पा मावि टारकेराबारीले पनि ३ स्वर्ण, ६ रजत र ४ कांस्य सहित कूल १३ पदकका साथ तेश्रो बनेको छ ।
गत वर्ष उपाधि जितेको जनजिवन मावि वाच्पूले भने ३ स्वर्ण, ३ रजत र ७ कांस्य सहित १३ पदकका साथ चौंथो बनेको छ । लेति मावि पोकलीले २ स्वर्ण र १ कांस्य पदक सहित ३ पदक तथा भिमसेनस्थान मावि नर्मदेश्वरले ३ कांस्य र च्युरीडाँडा मावि सिंहदेवीले २ कांस्य पदक प्राप्त गरेको छ । छैठौं राष्ट्रपति रनिङशिल्डमा ज्ञानज्योति मावि कुवापानी भने पदक विहीन बन्न पुग्यो ।
प्रतियोगिताका विजेता खेलाडी तथा विद्यालयहरुलाई कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष अशोक कुमार कार्की, उपाध्यक्ष अस्मिता थापा, प्रमुख प्रशासकिय अधिकृत अर्जुन कुमार राउत, गाउँपालिकाका प्रवक्ता मोहन कार्की, वडा अध्यक्षहरु टिकाराम क्याप्छाकी, तारा बहादुर तामाङ लगायतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।