बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सबै दोष सरकारलाई थुपारेर आर्थिक प्रगति हुन नसक्ने बताउनु भएकाे छ ।
शनिबार चितवनको भरतपुरमा चितवन उद्योग संघको ३३ औ वार्षिक साधरणसभाको उद्घाटन गर्दै उहाँले सरकारले गरेका ठूल्ठूला पूर्वाधार विकासको कुनै चर्चा नहुने, तर सानातिना कामको बढी प्रशंसा हुने गरेको बताउनुभयाे ।
सरकारले उद्योगी व्यवसायी र किसानलाई दिएको अनुदानको उचित ठाउँमा लगानी नभएको उहाँको भनाइ थियो ।
ससाना कामको लागि पनि सरकारको मुख ताक्नु गलत भएको बताउँदै मुख्यमन्त्री लामाले सबै क्षेत्रमा सुधार आवश्यक रहेको बताउनुभयाे ।
कृषि क्षेत्रमा प्रभावकारी रूपमा लगानी गर्न नसक्दा अर्थतन्त्र धरासायी बन्दै गएको भन्दै मुख्यमन्त्री लामाले विद्यमान कानुनको सबै क्षेत्रबाट पालना हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सबै क्षेत्रको समानुपातिक सुधार गर्न कानुनको कार्यान्वयन प्रभावकारी हुनुपर्छ, कृषकका लागि छुट्याइएको बजेट वास्तविक कृषकले उपभोग गर्न पाउनुपर्छ ।”
युवा विदेशिने क्रम रोक्न प्रदेश सरकारले स्वरोजगारका अवसर सृजना गरि सीपमूलक तालिमल र उत्पादन गरिएका बस्तुहरुको बजारिकरणमा विस्तारको क्षेत्रमा प्रदेश सरकार सधै प्रतिबद्ध रहेको बताउँदै मुख्यमन्त्री लामाले उद्योग पुस्तान्तरणको समस्या अहिलेको जटिल समस्याका रूपमा रहेको उल्लेख गर्नुभयो । “उद्योग, व्यवसाय नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा युवा विदेशिने क्रम नरोकिएकाले यो विषय जटिल बन्दै गएको छ ।
नयाँ युवा पुस्तालाई विदेश पलायन दर रोकेर नेपालमा स्वरोजगारमूलक काम गर्ने वातावरण बनाउन राज्यका सबै निकायको सक्रियता आवश्यक रहेको समेत बताउनु भयो । स्वदेशमै लगानीमैत्री वातावरण तयार गर्दै नयाँ युवा पुस्तालाई स्वदेशमा केही गर्न आग्रह समेत गर्नु भयो । कार्यक्रममा उद्यमीहरुको समस्या समेटीएको कविता उद्यमीहरुले वाचन गरेर सुनाएका थिए । चितवन उद्योग संघले जिल्लाका उत्कृष्ट उद्यमी र कार्यसम्पादनको आधारमा उत्कृष्ट कार्यालयको कर्मचारीलाई नगद सहित दोसला ओडाइ मुख्यमन्त्री द्धरा सम्मान गरिएको थियो ।