२०८१, १८ पुस बिहीबार | Thu Jan 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भविष्य खोज्न अर्काको देशमा जाने सोच त्याग्नुपर्छ’



गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा टकराज गुरूङले भविष्य खोज्न अर्काको देशमा जाने सोच त्याग्नुपर्ने बताउनुभएको छ । तमु ल्होसारका अवसरमा तमु ह्युल छोंज धि गुरूङ राष्ट्रिय परिषद् तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यक्रममा मन्त्री गुरूङले नेपालमै बसेर भविष्य खोज्न र नेपालको प्रगतिमा सहभागी हुन आह्वान गर्नुभयो ।

नेपालमा केही हुँदैन भन्ने भाष्य चिरेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै मन्त्री गुरूङले भविष्य बनाउन विदेश जानुपर्छ भन्ने सोच त्याग्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “भविष्य बनाउनका लागि विदेश नै जानुपर्छ भन्ने मानसिकता गहिरो रूपमा बसिसकेको छ । त्यस्ता मानसिकता त्यागेर नेपालमै केही गर्न सकिन्छ भन्ने सोच राख्नुपर्छ ।”

सक्षम र दक्ष जनशक्ति उत्पादनमा राज्यले ठूलो लगानी गरेकाले त्यस्ता नागरिक स्वदेशमै बसेर केही गर्नुपर्नेमा उहाँको जोड थियो । संविधानले जनजातिलाई अधिकार दिएकाले जनजातिका छोराछोरी उच्च तहमा पुग्न सकेको मन्त्री गुरूङले बताउनुभयो । 

मन्त्री गुरूङले शास्त्र र परम्परा हराए भाषा हराउने र भाषा हराए जात नै लोप हुने भएकाले भाषा र संस्कृतिको संरक्षणमा अग्रसर हुनुपर्ने बताउनुभयो । भाषा, संस्कृति, परम्परा संरक्षण गर्ने कार्यमा हरेक जातजाति आफैँ अग्रसर हुनुपर्ने उहाँको भनाइ थियो । 

गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले प्रदेश सरकार सबै जातजातिको संरक्षणका लागि क्रियाशील रहने बताउनुभयो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले चाडपर्वले जातीय सद्भाव कायम राख्न सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : २०८१, १५ पुस सोमबार ००:००  ५ : ३४ बजे