
काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा गत शुक्रबार गएको पहिरोमा पुरिएर बेपत्ता भएका मध्ये हालसम्म २२ जनाको शव भेटिएको छ । १७ जना अझै बेपत्ता रहेका छन् । सिन्धुपाल्चोक प्रहरीका प्रवक्ता डिएसपी माधव काफ्लेका अनुसार सोमबार थप तीन जनाको शव निकालिएको हो ।
उनीहरुको नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोलीले पहिरो पन्छाउँदै थप शव निकालेको काफ्लेको भनाइ छ । पहिरो गएको दिन शुक्रबार ११ जना, शनिबार थप सात र आइतबार एक जनाको शव निकालिएको थियो ।
आइतबार र सोमबार फेला परेको शवको पहिचान पनि भएको छ । मृतकमा १२ वर्षीय हिन्तोष दोङ, ६ वर्षीय सुमन दोङ, १० वर्षीय सुमन दोङ र २२ वर्षका अजय दोङ रहेको जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिइन् ।
यस अघि १८ जनाको शवको पहिचान भइसकेको छ । पहिरोले गहिरो गरी किचेका घरबाट शव निकाल्न घरेलु हतियारले सम्भव नभएपछि सके एक्स्काभेटर नसके जेसिबी भएपनि ल्याउने तयारी गरेको उनको भनाइ छ ।
जुगल गाउँपालिकाले पहिरोमा परि मृत्यु भएका २२ र बेपत्ता १७ जनाको घरपरिवारलाई किरिया खर्च र तत्कालको राहतका लागि जनही एक लाख २५ हजारको दरले वितरण गरेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।











