
काठमाडौं । नेपालमा सोमबार थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा ५८१ संक्रमित थपिएका हुन् । जसमा १७३ महिला र ४०८ पुरुष रहेका छन् । हालसम्म देशभर कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १६० जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १७ हजार ४९५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६४ दशमलव २ प्रतिशत रहेको छ ।
यस्तै गएको २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय सात पुगेको छ ।











