२०८२, ३ पुस बिहीबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजदेखि ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’



इलामको चुलाचलीमा आजदेखि तेस्रो संस्करणको ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ आयोजना हुँदैछ । आफ्नो नवौँ वार्षिकोत्सवको अवसर पारेर चुलाचुली रङ्गमञ्चले दुई दिने नाट्य महोत्सव संयोजन गरेको हो ।

चुलाचुली गाउँपालिका–३ स्थित पर्यटकीय क्षेत्र शिवओरकमा खुला क्षेत्रमा हुने नाट्य महोत्सवमा विभिन्न आठ नाटक मञ्चन हुने, दुई खुला प्रस्तुति र दुई रङ्गमञ्च अन्तरसंवाद हुने आयोजक चुलाचुली रङ्गमञ्चका अध्यक्ष चेतन आङथुपोले जानकारी दिनुभयो । चुलाचुली गाउँपालिकाको सामुदायिक र संस्थागत गरी चार विद्यालय, जिल्ला बाहिरका दुई वटा विद्यालय र एक नाट्य संस्थाका साथै आयोजक रङ्गमञ्चका एक नाटक मञ्चन हुनेछन् ।

नाट्य महोत्सवको पहिलो दिन आज आयोजक चालचुली रङ्गमञ्चले ‘भुमरी’, मोरङस्थित सुविजिमुर मेरमोरियल माविले ‘उ जुनेली’, हेटौँडास्थित कलाक्रान्ति नाट्य समूहले ‘डार्क स्याडो’ र चुलाचुली गाउँपालिकास्थित पञ्चबुद्ध एकाडेमीले ‘मणी लुगा’ मञ्चन हुनेछ । त्यस्तै चेतना नाट्य समूह इलामको खुला प्रस्तुति र शिक्षा, नेपानी रङ्गमञ्च तथा नाटकको विषयमा अन्तरसंवाद हुने जनाइएको छ ।

मंगलबार चुलाचुली गाउँपालिकास्थित अमृत बोर्डिङ स्कूलले ‘द ल्याण्ड अफ मङ्की’, बालज्योति माविले ‘द रुट’, जनता माविले ‘वातावरण’ र मोरङस्थित रियालन्स माविले ‘मौनताको कथा’ मञ्चन हुने आयोजकले जनाएको छ । सोही दिन कुलुङ भाषा संस्कृति उत्थान सङ्घ चुलाचुलीको खुला प्रस्तुति र शिक्षा, नेपानी रङ्गमञ्च तथा नाटकको विषयमा अन्तरसंवादसँगै महोत्सवको समापन गरिने अध्यक्ष आङ्थुपोले बताउनुभयो ।

“विश्वव्यापारीकरमा ग्रामीण सौन्दर्यको खोजी नारासहित तेस्रो संस्करणको नाट्य महोत्सव आयोजना गर्दैछौँ”, उहाँले भन्नुभयो, “नाट्य महोत्सवमा फाइन आर्ट कार्यशाला, फोटो प्रदर्शनी, नाटक कार्यशाला, विभिन्न जातजातिको लोकबाजा झाँकी प्रदर्शनी र रङ्गमञ्च अन्तरसंवाद गरिनेछ ।” भूमि, कला र पार्यवरणको समिश्रणमा चुलाचुली पाठशाला नाट्य उत्सव आयोजना गरिने उहाँले बताउनुभयो । “शैक्षिक संस्थालाई रङ्गमञ्च कसरी बुझाउन सकिन्छ भन्ने अभ्यास गरेका छौँ । अभ्याससँगै नाटक मात्रैभन्दा पनि पर्यावरणबारे पनि बुझाउने हाम्रो प्रयास हो”, अध्यक्ष आङथुपोले भन्नुभयो, “हामीले भूमि, कला र पर्यावरण कलाको समिश्रणमा खुला ठाउँमा नाट्य उत्सव गर्दैछौँ ।”

रङ्गमञ्चका सचिव सन्तोष गिरीले समुदायसँग सहकार्य गर्दै समुदायको सीप कलामा जोड्दै आएको बताउनुभयो । “समुदायसँग रङ्गमञ्च जोड्ने र स्थानीय ठाउँमा रहेका माटो, ढुङ्गा, पानी र विभिन्न वनस्पतिबाट स्टेज बनाएका छौँ”, उहाँले भन्नुभयो, “हामीले प्राकृतिक चिजलाई कसरी कलात्मक बनाउने भन्ने अभ्यास गरिरहेका छौँ ।”

नाट्य महोत्सवलाई प्रोत्साहन गर्न चुलाचुली गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । स्थानीयस्तरमा हुने कला र संस्कृतिको संरक्षण गर्न गाउँपालिकाले सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पालिकाभित्रका विभिन्न प्रतिभाको गाउँपालिकाले प्रोत्साहन गर्दै आएको छ । ” चुलाचुली रङ्गमञ्चले यसअघि २०७६ सालमा पहिलो र २०७९ सालमा दोस्रो नाट्य महोत्सव आयोजना गरेको थियो ।

प्रकाशित मिति : २०८१, १४ माघ सोमबार ००:००  ८ : १६ बजे